दूध वितरण र संकलनमा गिरावट
हेटौँडा, १ साउन/हेटौँडा दुग्ध वितरण आयोजनाले आर्थिक बर्ष २०७२÷०७३ मा ४७ लाख ७१ हजार १४ लिटर दूध संकलन गरेको छ ।
यस्तै २३ लाख ९० हजार ७ सय लिटर स्ट्याण्डर्ड दूध विक्री गरेको छ । दुग्ध वितरण आयोजनाको ४८ औँ बार्षिकोत्सव कार्यक्रममा दिइएको जानकारी अनुसार यो गत बर्षहरुको तुलनामा करिब आधा कमी हो । दूध संकलनको दरमा गतवर्षको तुलनामा झण्डै आधा गिरावट आएको छ । आर्थिक २०७१÷०७२ मा ८७ लाख ८४ हजार चारसय ९६ लिटर दूध संकलन गरेको आयोजनाले आर्थिक वर्ष २०७२÷०७३ मा ४७ लाख ७१ हजार १४ लिटर दूध संकलन गरेको छ ।
गतवर्षको नाकाबन्दी तथा मधेश आन्दोलनका कारण आयोजनाको दूध संकलन र विक्रीमा भारी गिरावट आएको निमित्त आयोजना प्रमुख बीरेन्द्रकुमार भट्टको भनाई छ । उनका अनुसार आर्थिक २०७१÷०७२ मा ३० लाख ५९ हजार चारसय सात लिटर दूध विक्रीवितरण गरेको आयोजनाले आर्थिक वर्ष २०७३÷०७ मा २३ लाख ९० हजार सातसय लिटर दूध विक्रीवितरण गरेको छ । मुख्य बजार वीरगञ्ज भएको जानकारी दिँदै उनले मधेश आन्दोलनका कारण तराईको दूध संकलन पनि नसकेको र त्यहाँ आयोजनाको उत्पादन पु¥याउन नसकेको बताए । इन्धन अभावको कारण धेरै समय हाम्रा सवारी साधनहरु नचलेको बताउँदै उनले आफ्नो लक्ष्य पूर्णरुपमा हासिल गर्न नसकेको जानकारी दिए ।
कार्यक्रममा उत्कृष्ट सहकारी, डिलर, बढि दूध बिक्री गर्ने (बुथम्यान), सहकारी चिलिङ सेन्टरलगायतलाई नगद ५ हजार रुपैँया सहित सम्मान गरिएको थियो । वार्षिकोत्सव कार्यक्रममा उत्कृष्ट दूध उत्पादनबापत् जय चौतारी सहकारी रौतहट, उत्कृष्ट सहकारी चिलिङ सेन्टरबापत् साना किसान सहकारी संस्था रौतहट, उत्कृष्ट वुथम्यान अलुवा महर्जन बीरगञ्ज र पाउना देवी वैरनी, उत्कृष्ट वुथम्यान (संस्थाको मात्र दूध विक्री गर्ने) मुकुन्द श्रेष्ठ बीरगञ्जनलाई जनही नगद पाँचहजार रुपियाँ, सम्मानपत्र र खादा ओढाएर सम्मानित गरिएको थियो । हेटौंडा आइसक्रियम पार्लर सर्लाही, सौराह डेरी एण्ड कोल्ड स्टोर्स चितवन र खतिवडा ब्रदर्श हेटौंडालाई पनि सम्मानित गरिएको थियो ।
जिल्ला सहकारी संघ मकवानपुरका अध्यक्ष बद्री लम्सालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, क्षत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख राजकुमार रिजाल, उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल, पत्रकार महासंघ मकवानपुरका कार्यसमिति सदस्य सुरेश श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका वक्ताहरुले गुणस्तरलाई कायम राख्नको निम्ति हेटौँडा दुग्ध वितरण आयोजनालाई अनुरोध गरेका थिए ।

