Header Ads


साउन पहिलो हप्तासम्म भिडियो एक्सरे मेसिन खरिद् गरिने

हेटौँडा, २१ असार/काम तथा पढाईको शिलशिलामा विभिन्न मुलुकमा पुगेका मकवानपुरको हाँडीखोला गाविसका युवाहरुले सुरु गरेको आफ्नो ‘गाउँ आफैँ बनाऔँ अभियान’ अन्तर्गतको हाँडीखोला स्थास्थ्यचौकीलाई एकथान भिडियो 
एक्सरे मेसिन सहयोग गर्ने अभियान अन्तिम चरणमा पुगेको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत हाँडीखोलाका युवाहरुले सञ्चालन गरेको यस अभियानबाट ६ लाख ४२ हजार रुपैँया संकलन भैसकेको छ । विभिन्न मुलुकमा रहेका युवाहरुले यस अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाए अनुसार ६ लाख ५४ हजार ५ सय ८४ रुपैँया संकलन हुनुपर्ने थियो । ‘बोलेका केही साथीहरुले मात्र पैसा दिन बाँकी रहेको छ’, आफ्नो गाउँ आफैँ बनाऔँ अभियानका अभियन्ता (हाल दक्षिण कोरियामा रहेका) सञ्जिव पाठकले भने, ‘७ लाख रुपैँया सम्म उठाउन सकिन्छ की भन्ने भन्ने हाम्रो योजना रहेको थियो । ६ लाख रुपैँया भन्दा बढी रकम खातामा जम्मा भैसकेको छ ।’
साउनको पहिलो हप्ताभित्रमा भिडियो एक्सरे मेसिन किनिसक्ने योजना रहेको बताइएको छ । ‘आफ्नो गाउँ ठाउँमा केही सहयोग गर्नुपर्छ भन्ने उद्देश्यका साथ हामीले यो अभियान सञ्चालन गरेका थियौँ’, अर्का अभियन्ता (हाल जापानमा रहेका) श्रीराम रिजालले थपे, ‘सबैको सहयोगबाट करिब साँढे ६ लाख रुपैँया संकलन गर्न सफल भएका छौँ । सहयोगी सबै धन्यवादका पात्र हुन् ।’ भिडियो एक्सरे मेसिन खरिद्को लागि केही रकम अपुग रहेकोले ५० हजार रुपैँया मकवानपुर कोरिया मञ्चले सहयोग गर्ने सल्लाह भैरहेको जानकारी दिइएको छ ।
 हाँडीखोला स्वास्थ्यचौकीका अहेव ज्योतिराज लुईंटेलले नेपालमा खोलिएको खातामा ६७ जनाबाट ६ लाख ४२ रुपैँया रकम संकलन भैसकेको जानकारी दिए । ‘लगभग कलेक्सन सकियो । प्रतिबद्धता भएअनुसार ६ लाख ५४ हजार ५ सय ८४ रुपैँया उठ्नुपर्ने हो । खातामा ६ लाख ४२ हजार रुपैँया जम्मा भैसकेको छ’, लुईंटेलले भने, ‘भिडियो एक्सरे मेसिनको लागि करिब साँढे सात लाख रुपैँया लाग्ने बुझेका छौँ ।’ साउनको पहिलो हप्ताभित्रमा मेसिन ल्याउने तयारी भैरहेको उनले बताए । ‘साउन १ गतेबाट हाँडीखोला स्वास्थ्यचौकीमा भिडियो 
एक्सरे मेसिन ल्याउने लक्ष्यका साथ हामी लागिपरेका थियौँ’, अहेव लुईंटेलले थपे, ‘क्लोजिङको समयसंगै असारको चटारोले गर्दा अलि ढिला भएका हौँ । साउनको पहिलो हप्तासम्ममा भिडियो एक्सरे मेसिन ल्याउने छौँ ।’ 
मकवानपुरको टिस्टुङ स्वास्थ्यचौकीमा मात्र भिडियो एक्सरे मेसिन सञ्चालन भैरहेको छ । सिस्नेरीले पनि एम्बुलेन्स र भिडियो एक्सरे मेसिन सञ्चालनको तयारी गरिरहेको छ । हाँडीखोलामा ल्याइने भिडियो एक्सरे मेसिनबाट हाँडीखोलासंगै हेटौँडाको २९ नम्बर वडा र १२ र १३ नम्बर वडाका सर्वसाधारण समेत लाभान्वित हुनेछन् । 
आफ्नो गाउँ आफैँ बनाऔँ अभियानका अभियन्ता सञ्जिव पाठकले भिडियो एक्सरे मेसिन खरिद् पश्चात आवश्यकताको आधारमा अन्य कार्य गर्ने योजना रहेको बताए । 

Powered by Blogger.