Header Ads


हर्नामाडीमा रोपाईंको कला हुने

हेटौंडा, ७ मंसिर/यसअघि अन्तराष्ट्रिय मुर्तिकला र चित्रकला कार्यशाला भैसकेको मकवानपुरको हर्नामाडीमा यही मङ्सिर ११, १२ र १३ गते नेपालमै पहिलो पटक नयाँ किसिमको रोपाईं अर्थात रोपाईंको कला हुने भएको छ । 
जापानका कलाकार सेत्चु सुजुकीको ताउऐ परियोजना अन्तर्गत हर्नामाडी कला प्रतिष्ठानको संयोजनमा हेटौंडा–२५ हर्नामाडीस्थित बेलघारीको २ बिगाहा खेतमा ३ दिन रोपाईंको कला हुने भएको
हो । मंगलबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमको बिषयमा जानकारी दिइएको हो । हर्नामाडी कला प्रतिष्ठानका अध्यक्ष हर्क रम्तेलका अनुसार खेतमा ३ दिन फरक फरक किसिमको कला प्रश्तुत गरिने छ । धान रोप्नको लागि गरिने तयारी झैं यस कार्यको लागि पनि त्यस्तै तयारी भएको बताउँदै उनले खेतमा धान नभै करिब १३ सय वटा लौरो रोपिने जानकारी दिए । 
खेतमा साँढे ३ फिट अग्लो र ३ इञ्च चौडाई भएको रातो रङको लौरोमा मुकुण्डो लगाइने फरक फरक आकृति एवम् ढाँचामा रोपिने बताइएको छ । नेपालको लागि यो पहिलो र नौलो किसिमको कार्यक्रम भएको जानकारी दिंदै प्रतिष्ठानका संरक्षक लक्ष्मण भुजेलले यस कार्यक्रममा सहभागिताको लागि सबैलाई अनुरोध गरे । पछिल्लो समय मकवानपुरका आर्टप्रति सर्वसाधारणको चासो बढ्दै गइरहेको भन्दै भुजेलले यसलाई 
सकारात्मक रुपमा लिनुपर्ने बताए । 
Powered by Blogger.