युद्ध स्तरमा काम गर्न प्रधानमन्त्रीको निर्देशन
हेटौंडा, २ पुस/नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माणाधिन १४ मेघावाटको कुलेखानी तेस्रोको काम युद्धस्तरमा गर्नको लागि निर्देशन दिएका छन् ।
ठूला राष्ट्रिय गौरवका आयोजनाहरु अनुगमन गर्ने प्रधानमन्त्रीको अभियान अन्तर्गत शनिबार बिहान भैंसेस्थित कुलेखानी तेस्रो आइपुगेका उनले आगामी साउन १५ भित्रै काम सक्न निर्देशन दिएका हुन् । राष्ट्रिय महत्वका योजनाहरुमा ढिलासुस्ती, अपारदर्शीता एवम् खर्चिलो हुने गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले अब तोकिएको समयभित्र कुनै हालतमा काम सम्पन्न गर्न आयोजना प्रमुख सुभाषकुमार मिश्रलाई निर्देशन दिएका हुन् ।
‘पारदर्शी एवम् प्रभावकारी रुपमा काम गर्ने कर्मचारीलाई सम्मान गर्ने कार्यविधि बनाउन सचिवहरुलाई भनिसकेको छु’ उनले भने, ‘यसले यस्ता राष्ट्रिय गौरवको आयोजनाका काम बेलैमा सम्पन्न गर्न सघाउ पुग्नेछ भन्ने विश्वास छ ।’ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी आयोजनास्थलमा नआएकोले काममा ढिला भैरहेको आयोजना प्रमुख मिश्रले जानकारी गराएका थिए ।
प्रधानमन्त्री प्रचण्डले यसको लागि सरकारको तर्फबाट आवश्यक पहल हुने जानकारी दिए । आर्थिक बर्ष २०६३÷०६४ बाट सुरु भएको आयोजना हालसम्म ५ पटक म्याद थप हुँदा समेत सम्पन्न हुन सकेको छैन । करिब साढे २ अर्बमा सकिनुपर्ने आयोजनामा हालसम्म ४ अर्ब ६३ करोड रुपियाँ भन्दा बढी खर्च भैसकेको आयोजना प्रमुख मिश्रले जानकारी दिए । निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीलाई आयोजनास्थलमा झिकाएर द्रुत गतिमा काम गरे साउन १५ गतेसम्म काम सकिने आयोजना प्रमुख मिश्रको दावी छ । प्रचण्डले आयोजना स्थलको अनुगमन समेत गरेका थिए ।
