‘१५ मिटर भत्काएर बाइपास प्रयोगमा ल्याउनुपर्छ’
हेटौंडा, १६ माघ/संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौंडाको लागि विकल्पसहितको बाइपास सडकको व्यवस्था गर्नु आवश्यक रहेको बताएका छन् ।
बसामाडी जेसीजको पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रममा उनले हेटौंडा बजार बीचबाट एसियन हाइ–वे हुन नसक्ने बताए । ‘मूल बजारबाट २५ मिटर दायाँबायाँ भत्काउन हुँदैन भन्ने मेरो मान्यता हो’, उनले भने, ‘सडकको बीच भागबाट १५÷१५ मिटर दायाँबायाँ भत्काउँदा ४ लेनको बाटो बन्छ, यो संगै बाइपास सडकलाई प्रयोगमा ल्याउन सकियो भने सबै मिल्न जान्छ ।’
राज्यमन्त्री बानियाँले १५ मिटर भन्दा बढी नभत्काउने गरी छलफल र सहमति गर्नु आवश्यक रहेकोमा जोड दिए । ‘विकल्पसहितको बाइपास बनाउने र बढीमा १५ मिटर क्षेत्रफलका घर, टहरालगायतका संरचना भत्काउने गरी सरकारले सहमति गर्छ भन्ने विश्वास छ’, उनले भने, ‘यसका लागि यहाँका राजनीतिक दलको बीचमा समेत सहमति हुनु आवश्यक छ ।’ उनले जेसीजमा लागेका युवाहरु राजनीतिमा समेत लाग्नु आवश्यक रहेको सुझाव दिए । सामाडी जेसीज बर्ष सन् २०१६ का अध्यक्ष सुनिलकुमार दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष राजेशमोहन प्रधान, नेपाल जेसीज बर्ष सन् २०१७ का कार्यकारी उपाध्यक्ष शोभा खरेल, बसामाडी जेसीजका सल्लाहकार अशोक शाक्य, मानार्थ सल्लाहकार हरिबहादुर पण्डित, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सम्राट तुम्बाहाम्फे, बसामाडी जेसीजका पूर्व अध्यक्ष अभय श्रेष्ठ, नारायणगढ लेडी जेसीज अध्यक्ष निर्जली श्रेष्ठ, हेटौंडा जेसीज अध्यक्ष अरुणकुमार दाहाल, बस्तीपुर जेसीज अध्यक्ष पुष्कल न्यौपाने, बसामाडी जेसीजका हरि शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बसामाडी जेसीजको बर्ष सन् २०१६ मा भएका गतिविधी एवम् क्रियाकलापलाई सञ्चार माध्यमबाट प्रकाशन प्रशारणमा सहयोग गरेको भन्दै साझाकुरा दैनिकका प्रकाशक सम्पादक सविन न्यौपानेलाई सम्मान गरिएको छ । कार्यक्रममा जेसीजका विभिन्न शाखाका अध्यक्षहरु, नेपाल जेसीजका पूर्व पदाधिकारीहरु तथा विभिन्न राजनीतिक दल एवम् संघसंस्थाका प्रमुख एवम् प्रतिनिधीको आतिथ्यता रहेको थियो ।
बसामाडी जेसीजमा पाण्डे पदस्थापित
हेटौंडा, १६ माघ/बसामाडी जेसीज बर्ष सन् २०१७ को अध्यक्षमा अनिल पाण्डे पदस्थापित भएका छन् ।
आइतबार भएको १८ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रमका बीच पाण्डे बसामाडी जेसीजको अध्यक्षमा पदस्थापित भएका हुन् । उनलाई २०१६ का अध्यक्ष सुनिल दाहालले चेन हस्तान्तरण गर्दै अध्यक्षमा पदस्थापित गराएका हुन् । अध्यक्ष पाण्डेले प्रत्येक बर्ष राष्ट्रिय क्रिकेट प्रतियोगिता गर्ने लक्ष्य रहेको बताए । ‘बसामाडी जेसीजको आयोजनामा प्रत्येक बर्ष राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता हेटौंडामा गर्ने योजना बनाएको छु’, उनले भने, ‘यसको पुरस्कार राशी कम्तीमा ३ लाख रुपियाँ हुनेछ ।’
यसअघि बसामाडी जेसीजको आयोजनामा हुँदै आएका कार्यक्रमलाई निरन्तरता दिंदै जाने र सबैको सल्लाहमा नयाँ कार्यक्रमहरु पनि थप्ने योजना रहेको पाण्डेले बताए । पाण्डेले २०१७ का लागि महासचिवमा उदिप आचार्य, कानुनी सल्लाहकारमा बिष्णुहरि पण्डित, कोषाध्यक्षमा हरि शर्मा, शाखा सम्पादकमा सरोज अधिकारीसहित विभिन्न पदमा विभिन्न व्यक्तिलाई नियुक्त गरेका छन् ।
