राष्ट्रिय युवा अभियानको अधिवेशन भोली शनिबार
हेटौंडा, २१ पुस/डा. बाबुरामभट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको युवा संगठन राष्ट्रिय युवा अभियान मकवानपुरको प्रथम जिल्ला अधिवेशन भोली शनिवार हेटौंडामा हुने भएको छ ।
युवा अभियान मकवानपुरले बिहीबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष सहित ७ सदस्यीय पदाधिकारी रहने गरी जम्मा ७५ सदस्यीय जिल्ला समिति निर्माण गर्ने बताएको हो । अबको निकास आर्थिक विकास र समृद्धिका लागि युवा भन्ने मूल नाराका साथ हुने अधिवेशनको तयारी तीव्रताका साथ अघि बढाइएको जानकारी दिइएको छ ।
नयाँ शक्ति पार्टीका केन्द्रीय कार्यकारी सदस्य एवम् ३ नम्बर प्रदेश संयोजक गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा हुने अधिवेशनलाई सभ्य र भव्य रुपमा सम्पन्न बनाउनका लागि आयोजक लागिपरेको राष्ट्रिय युवा अभियान मकवानपुर संयोजक सुबोध रिमालले जानकारी दिए ।
वर्तमान अवस्थामा दैनिक करिब १५ सय युवा विदेशिने गरेको तितो यथार्थ नेपाली माझ रहेको भन्दै रिमालले देशको आर्थिक समृद्धिमा अबको पहल जरुरी रहेको बताए । राष्ट्रिय युवा अभियानमा मकवानपुरका करिब ९ सयजना युवाहरु आबद्ध रहेको र आगामी दिनमा मकवानपुरमा रहेका सम्पुर्ण युवा शक्तिलाई समेटेर विकास र समृद्धीको अभियानमा जोड्ने लक्ष्य रहेको उनले बताए ।
अधिवेशनमा ३ सय ५० जना प्रतिनिधि र १ सय जना पर्यवेक्षक रहने बताइएको छ । अधिवेशनको अनुमानित खर्च २ लाख रहेको र अधिवेशन हेटौंडा–४ स्थित पशुपति मन्दिरको सभाहलमा हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

