Header Ads


‘साहाराको मात्र ग्यास वितरण गर्नु चलखेल’

विजय पौडेल
हेटौँडा, ६ मंसिर÷भारतले गरेको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यासलगायत अत्यावश्यक बस्तुको चरम अभाव भैरहेको छ । 
यो अवस्थामा जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा जिल्लामा अत्यावश्यक सेवाको लागि भन्दै इन्धन वितरण भैरहेको छ भने साहारा र नेपाल नारायणी ग्यास समेत पटक पटक वितरण गरिएको छ । पछिल्लो समय हेटौंडामा रहेका डिलरबाट पटक पटक साहारा ग्यास वितरण भयो । यस्तै नेपाल नारायणी ग्यास पनि वितरण भएको छ तर यी बाहेकका कम्पनीका सिलिण्डरको ग्यास प्रयोग गर्दै आएका सर्वसाधारण भने ग्यास नपाएका कारण निरास भएका छन् ।
‘साहाराको सिलिण्डर भएकाले पटक पटक ग्यास पाइरहेका छन्, नेपाल ग्यासको सिलिण्डर भएकालाई पनि एक पटक ग्यास बाँडियो रे, हामीसंग बाबाको सिलिण्डर भएकोले अहिलेसम्म एकपटक पनि ग्यास पाएका छैनौँ’, मनहरी–८ रजैया घर भै हेटौंडामा डेरामा बस्दै आएकी स्वेच्छा अधिकारीले गुनासो गर्दै भनिन्, ‘बाबाको कम्पनी त्यहिू चितवन मै छ तर पनि हामी टुलुटुलु हेरेर मात्र बस्न बाध्य भएका छौँ ।’ यस बिषयमा जिल्ला प्रशासन कार्यालय, मकवानपुर उद्योग वाणिज्य संघसहित मकवानपुरमा रहेर साहारा र नेपाल ग्यास बाहेकका ग्यास विक्री गर्दै आएका डिलरले कुनै पहल नगरेको भन्दै उनले आक्रोश पोखिन् ।
 कोठामा बस्दै आएकालाई दाउरामा खाना पकाएर खान समेत समस्या भैरहेको अधिकारीको गुनासो छ ।
 ‘एउटा कोठा भाडामा लिएर बसेको हुन्छ, कहाँबाट दाउरा ल्याउनु अनि कहाँ पकाउनु ?’ उनले आक्रोशित मुद्रामा भनिन् । यस्तै सुकौरा–१ घर भै कामको सिलसिलामा हेटौंडा बस्दै आएका सुमन दुलालले ग्यास पाइने छाँट नभएपछि भुसेचुल्हो किनेको सुनाए । ‘जहिले साहाराको ग्यास मात्र बाँडेको देख्छु, यो अवस्थामा न कसैले सिलिण्डर साट्न मान्छ, न त कसैले अरु कम्पनीको ग्यास बाँड्ने तत्परता नै देखाउँछ’, दुलालले भने । उनले साहारा कम्पनीको मात्र ग्यास वितरण गरिनुको पछाडी केही रहस्य भएको हुन सक्ने शंका 
गरे । ‘साहाराको मात्र ग्यास वितरण गर्नुको पछाडी ठूलै चलखेल छ भन्ने लागेको छ’, उनले भने, ‘जिल्लामा साहाराको भन्दा अरु कम्पनीको ग्यास प्रयोग गर्नेहरु धेरै रहेका छन् तर किन साहाराको मात्र ग्यास वितरण भैरहेको छ ?’ 
यस बिषयमा साहारा बाहेकका ग्यास विक्रेताहरु समेत चुप लागेर बस्नुले थप शंका उत्पन्न गराएको सर्वसाधारणको भनाई छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलिया कै सकृयता एवम् मिलेमतोमा 
साहाराको मात्र ग्यास वितरण भैरहेको र नजिकका व्यक्तिलाई मात्र इन्धनको कुपन वितरण गरिएको भन्दै चियागफ गर्नेहरु धेरै भेटिन थालेका छन् । 

Powered by Blogger.