Header Ads


अन्यौलता हैन निकास चाहियो

‘अघोषित’ भनिएको भारतको नाकाबन्दीले नेपालको अर्थतन्त्रमाथि गम्भीर प्रहार गरेको छ । दक्षिणी सीमावर्ती नाकाहरुमा अत्यावश्यक सामग्रीको आपूर्ति रोकिएपछि मुलुकको व्यापार–व्यवसाय, पर्यटन, उद्योग र सेवा क्षेत्र ठप्प भएका छन् । ग्यास, पेट्रोलियम पदार्थलगायत उपभोग्य सामग्रीको अभावबाट सर्वसाधारणमा छटपटी सुरू भैसकेको छ । नेपालसँग पारवहन तथा ढुवानीका विषयमा नाकाबन्दी गर्ने निर्णय नगरिएको जनाउँदै आए पनि सीमावर्ती क्षेत्रमा असुरक्षाको कारण देखाउँदै भारतले हजारौँ मालवाहक गाडीहरुमाथि रोक लगाउँदा  मुलुक नराम्ररी प्रभावित बनेको छ । यसबाट अरबौँ राजस्वसमेत गुमेको छ । नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै आएको भारतले महाभूकम्प जस्तो महाविपत्तीमा परेको मुलुकलाई नाकाबन्दी गरेर असल छिमेकीको पहिचान गुमाउँदै गएको छ । भारतको पछिल्लो नाङ्गो हस्तक्षेपविरूद्ध नेपाली जनता आक्रोशित बनेका छन् । देशको विभिन्न स्थानहरुमा भारतीय हस्तक्षेपविरूद्ध नाराजुलुस, भारतीय प्रधानमन्त्री मोदीको पुतला दहन एवम् भारतीय च्यानल तथा चलचित्र प्रदर्शनमा रोक लगाउनेजस्ता भारत विरोधी गतिविधिहरु बढ्दै गएका छन् ।
भारतीय पक्षबाट भएको निकृष्ट हस्तक्षेपको भारतमा समेत तीव्र विरोध हुन थालेको छ । सार्वभौम राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार नभएको भन्दै भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी)का महासचिव एवम् उक्त पार्टीका संसदीय समूहका प्रमुख सीताराम सेचुरीले समेत असन्तुष्टि जनाइसकेका छन् । दुईतिहाईभन्दा अत्यधिक बहुमतबाट आएको संविधानको प्रक्रिया र उपलब्धिलाई लिएर हस्तक्षेपकारी बन्नुको अर्थ नरहने भन्दै उनले नाकाबन्दीको तहसम्म उत्रनु भारत सरकारको ठूलो गल्तीका रुपमा टिप्पणीसमेत गरेका छन् । नेपालको नयाँ संविधान जारी भएसँगै नाकाबन्दी गर्ने सरकारको कदमप्रति भारतीय नागरिकसमेत असन्तुष्ट भएका छन् । सीमानाका जोडिएका भारतीय नागरिकले सरकारको पछिल्लो कदमलाई बेइज्जतीपूर्ण भनेर विरोध जनाइरहेका छन् । भारतले देखाएको पछिल्लो कूटनीति कमजोर र लज्जास्पद रहेको कुरा अन्तराषर््िट्रयकरण भइसकेको छ । विगतका सन्धि–सम्झौतालाई बिर्सेर भारतले नेपाली जनतालाई दुःख दिने नियत देखाएको छ, यसले दुई देशबीचको विशिष्ट सम्बन्धमा दरार उत्पन्न हुने संकेत देखिएको छ । नेपालको तराई मधेसमा जारी आन्दोलनका कारण  मजदुर तथा व्यापारीको समेत रोजीरोटी खोसिरहेको छ । सीमानाकाको अवरोधका कारण दुवैतर्फको जनजीवन प्रभावित भएको छ । भारतीय कदमविरूद्ध तीव्र आक्रोश चुलिनेक्रम जारी नै छ । नेपालको संवेदनामा भारतले पटकपटक हस्तक्षेप गर्दै आएको छ । भारतले कूटनीतिक मर्यादाविपरीत नाकाबन्दी गरेपछि सरकार र नेपाली जनतामा राष्ट्रभाव उर्लिएर आएको छ । शीर्ष नेताहरुले राष्ट्रिय एकता, स्वाधीनता र अखण्डताप्रति दर्शाएको अठोटका कारण भारतको स्वार्थपूर्ति नहुने स्पष्ट भएको छ । तर,रणनीति विहिन कुरामा मात्र सिमित यो सरकारको कुराले जनताहरुको धैर्यता कति समयसम्म थेग्ने भन्ने गंभिर प्रश्न खडा भएको छ । भारतको नाकाबन्दीले एउटैदेशसँग कुनै पनि वस्तुमा परनिर्भर बन्नुहुँदैन भन्ने पाठ सिकाएको भए पनि नेताहरुमा चीनसँगको ब्यापार बढाउने पहलप्रतिको उदासिनताले भने जनतामा नकारात्मक प्रभाव पार्न थालेको छ । त्यसैले अब उनीहरुले जनतालाई लामो समयसम्म यो अन्यौलतामा नराखि निकास दिनुको विकल्प देखिन्न ।
Powered by Blogger.