Header Ads


‘असफल मकवानपुर उद्योग वाणिज्य संघ’

एक बर्षमा पनि पदाधिकारी टुङ्गो लागेन
हेटौँडा,७माघ/मकवानपुर उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयन भएको एक बर्ष बित्न लाग्यो तर यो एक बर्षको अवधिमा पनि अझै केही पदाधिकारीको टुङ्गो लाग्न सकेको छैन । 
४८ औं बार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयन भएको एक बर्ष पदाधिकारीबीच मनमुटाव, विभिन्न मन्त्री, नेतालगायतका व्यक्तिहरुको स्वागत सम्मानलगायतका कार्यमा नै वितेको केही पदाधिकारीको भनाई छ । मउवा संघमा अझै दुई सचिव र एक सह कोषाध्यक्षको बाँडफाँड गरी टुङ्गो लागेपछि मात्र पदाधिकारी पूर्ण हुनेछ । 
गत फागुन ७, ८ र ९ गते भएको ४८ औं साधारणसभामा अध्यक्षका लागि भिडन्त गरिरहेका राजकुमार न्यौपाने र ज्योतिरत्न बज्राचार्यलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सघाउ गर्दै कार्यसमितिमा उम्मेदवारी दिएका केही पदाधिकारीले अहिलेका अध्यक्ष न्यौपानेको कार्यशैलीलाई खासै मन पराएका छैनन् । ‘चुनावमा हारजित हुनु स्वभाविक हो । अनि चुनावमा कसलाई सहयोग गर्ने भन्ने बिषयमा प्रत्येक व्यक्तिको आफ्नो 
अधिकारको कुरा हो’, एक सदस्यले भने, ‘चुनावको बेलाको कुरा ल्याएर जहिल्यै ‘बायस’ गरेर हिँड्ने अध्यक्षको प्रवृत्ति मुख्य समस्या हो मकवानपुर उद्योग वाणिज्य संघमा ।’ उनले अध्यक्ष न्यौपाने केही व्यक्तिको उक्साहटमा एकलौटी ढङ्गबाट अघि बढ्न खोजेको आरोप समेत लगाए । 
‘आफूलाई जे जे मन लाग्यो त्यहि गरेको छ । पदाधिकारीको कुनै मतलव नै नगरी आफूलाई मन परेको कार्यसमिति सदस्यलाई अनेक ठाउँको प्रतिनिधी बनाएर पठाएको छ’, उनले भने, ‘अनि यस्तो कार्यको विरोध नगरे थपडी बजाएर बस्नु ? अध्यक्ष न्यौपानेले भने केही सार्वजनिक कार्यक्रममा समेत कार्यसमितिबाट आफूलाई सहयोग नभएको जवाफ दिँदै आएका छन् । उनले चुनाव सकिएपछि समेत गुटउपगुटको 
राजनीति कायम राख्दै आएका कारण समस्या भएको बताउँदै आएका छन् । 
अध्यक्ष न्यौपानेले कार्यसमिति सदस्य 
रहेका उज्वल चौलागाईंलाई सचिवमा मनोनित गर्न चाहेको भएपनि बहुमत सदस्यले चौलागाईंको बिरोध गर्दै आएको उद्योग वाणिज्य संघका केही सदस्यको भनाई छ । 
चौलागाईंसहित सन्तोषकुमार अर्याल, रबिन्द्र घिमिरे र रवि कंडेल शर्माले पनि सचिवमा इच्छा देखाएको बुझिएको छ । दुई सचिवमा एक महिला अनिवार्य चयन गर्नुपर्ने प्रावधान रहेको छ । महिला सचिवमा भने रेणु ज्ञवाली र निलम बैद्य दुवैले आ–आफ्नो दावी गर्दै आएका छन् । अध्यक्ष न्यौपानेले भूकम्प पछि उद्योग वाणिज्य संघले गरेको राहत वितरण कार्यमा हिनामिना गरेको भन्दै अख्तियारमा मुद्दा समेत परेको 
जानकारीमा आएको छ ।
 स्रोतले दिएको जानकारी अनुसार उनी र महासचिव महेन्द्र राउत अख्तियारको मुद्दा खेप्दै आइरहेका छन् । यस्तै मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियासंग ‘सेटिङ’ मिलाएर आफू निकटका व्यवसायीलाई मात्र तेल र ग्यास वितरण गर्ने गरेको, उत्पादनमुलक उद्योगका लागि भन्दै आफू निकटको मदिराजन्य र सुर्तिजन्य पदार्थ उत्पादन गर्ने कम्पनीलाई मात्र इन्धन उपलब्ध गराउँदै आएको व्यवसायीको आरोप छ । यस्तै उद्योग वाणिज्य संघले गर्ने हरेक निर्णयमा एकलौटी रुपमा केन्द्रीयता लाद्ने गरेको पदाधिकारीकै अरोप छ । 
उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरुका अनुसार साधारणसभाको एक बर्ष हुूदा पनि पदाधिकारी मनोनित गर्न नसकेको यो पहिलो घटना हो । यी बिषयहरुमा प्रतिक्रिया लिन खोज्दा अध्यक्ष न्यौपानेले आफू बैठकमा व्यस्त रहेको भन्दै फोन काटे । 
Powered by Blogger.