भारतीय हस्तक्षेप हाबीः परियार
हेटौँडा, १८ बैशाख/ वर्तमान राजनीतिक परिस्थितिमा भारतीय हस्तक्षेप हाबी रहेको देशभक्त संघीय जनवादी मोर्चा नेपालका केन्द्रिय अध्यक्ष तिलक परियारले बताए ।
शनिबार भएको नेकपा माओवादी सम्बद्ध देशभक्त संघीय जनवादी मोर्चा नेपालको आयोजना गरेको एकिकृत जनक्रान्ति र वर्तमान राष्ट्रिय परिस्थिति विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि रहेका परियारले भारतीय शासकहरुको उपयोगितावादी नीति र नियमका बारे स्पष्ट हुन नसक्दा परनिर्भताका कारण काठमाण्डौका दलाल तथा भ्रष्ट नोकरशाह शासक प्रशासकहरुको साँठगाठले घर न घाटका हुन पुगेको बताए । एकिकृत जनक्रान्ति र वर्तमान राष्ट्रिय परिस्थिति विषयक प्रतिवेदन प्रस्तुत गर्दै परियारले भने–‘स्वाधिन राष्ट्र बिना जनता अधिकार सम्पन्न हुन सक्तैन भने जनता अधिकार सम्पन्न नभए सम्म राष्ट्रिय स्वाधीनताको रक्षा पनि हुन नसक्ने’ उल्लेख गरेका थिए ।
‘सन् १८१६ मा सुगौली सन्धी गर्न नेपाल बाध्य भएको’ बताउँदै परियारले भने –‘दोस्रो ठूलो जलस्रोतको धनी देश भएता पनि असमान सन्धी सम्झौताका कारण नेपालको जलसम्पदा भारतको कब्जामा पर्न’ गएको बताए । उनले सुस्तामा १४ हजार ५ सय हेक्टर भारतले अतिक्रमण गरेको र ७५ जिल्ला मध्ये भारतसँग जोडिएका २६ जिल्लाहरुमा २३ जिल्लामा विवाद रहेको औल्याएका थिए । कार्यक्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालले पार्टी विभाजित हुदाँ सन्धि पनि परिवर्तन हुने गरेको बताए । अर्यालले दलाली पूँजीपति र
राष्ट्रिय पूँजीपतिको कुरा प्रतिवेदनमा उल्लेख नभएको टिप्पणी गरे।
त्यसैगरी बार एशोसियसन मकवानपुरका अध्यक्ष अज्मिर केसीले कार्यक्रममा प्रस्तुत भएको प्रतिवेदन गाउँ–गाउँमा गएर जनता समक्ष वर्तमान राष्ट्रिय परिस्थितिको बारेमा जानकारी गराउनुपर्ने कुरामा औँल्याएका थिए । ‘आÇनो अधिकार आफैले बुझ्न नसकेको बताउँदै केसीले भने–‘ सरकारमा रहेका अधिकांश नेताहरु भारतको गुलामी गरेकोले जनताको मन जित्न नसकेको’ बताए । कार्यक्रममा जनमोर्चाका केन्द्रिय सदस्य एवम जिल्ला अध्यक्ष कमलचन्द्र सुमन, नयाँ शक्ति नेपाल मकवानपुरका केन्द्रिय सदस्य शेरबहादुर पहरी लगायतले बोलेका थिए । नेपालको केन्द्रिय सदस्य कुमार हुमगाईको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
