Header Ads


मकवानपुर डाइक्लोफेनेक औषधीमुक्त

हेटौँडा, ३० बैशाख/मकवानपुरलाई पशुको औषधी डाइक्लोफेनेक मुक्त जिल्ला घोषणा गरिएको छ । 
नेपाल पन्छी संरक्षण संघ र पशु सेवा कार्यालय मकवानपुरले बिहीबार हेटौँडामा एक कार्यक्रमको आयोजना 
गरी ५० औँ जिल्लाको रुपमा मकवानपुरलाई डाइक्लोफेनेकमुक्त जिल्ला घोषणा गरेको हो । यस औषधिका कारण गिद्ध लोप हुने अवस्थामा पुगेको भन्दै नेपाल सरकारले यस औषधीलाई गत २०६३ जेठ २३ गतेदेखि पशु उपचारका लागि उत्पादन, प्रयोग तथा विक्री वितरणमा प्रतिबन्ध लगाएको छ । 
डाइक्लोफेनेक औषधी खुवाएर उपचार गराइरहेको पशुको उपचारको क्रममा मृत्यु भएमा उक्त सिनो गिद्धले खाए मृगौलाले काम गर्न छाडेर केही दिनमै गिद्ध मर्ने गरेको पन्छी संरक्षण केन्द्रका फिल्ड अफिसर भुपाल नेपालीले जानकारी दिए । गिद्धको लोप भएमा वन्यजन्तु, घरपालुवा जन्तु तथा मानवलाई समेत सिनोबाट उब्जन सक्ने विभिन्न प्रकारका रेबिज, ब्रुसोलोसिस र एन्थ्राक्स जस्ता रोग लाग्ने सम्भावना रहने उनको भनाई छ । 
प्राकृतिक सन्तुलन तथा वातावरणीय शुद्धताका लागि अति महत्वपूर्ण मानिएको अति संकटापन्न अवस्थामा पुगेका दुर्लभ पक्षी गिद्ध संरक्षणमा विभिन्न संघसंस्थाले अभियान चलाइरहेका बेला मकवानपुर जिल्लाले पनि गिद्ध संरक्षणमा लाग्ने प्रतिवद्धता जनाएको छ । 
पशु उपचारमा डाइक्लोफेनेकको प्रयोग बन्द गर्ने र लोपोन्मुख गिद्ध संरक्षणमा जिल्लाका सरोकारवालहरुले प्रतिबद्धता जनाएका हुन् । प्रतिबद्धतामा मकवानपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले हस्ताक्षर गर्दै अभियानको औपचारिक सुरुवात गरेका थिए । हस्ताक्षर गर्दै सहायक प्रजिअ पन्तले मकवानपुर पशु उपचारमा डाइक्लोफेनेकको प्रयोग बन्द भएको र लोपोन्मुख गिद्ध संरक्षणमा जिल्लामा अभियान सुरु भएको बताएका थिए । 
उनले घोषणासँगै अनुगमन तथा आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरे । कार्यक्रममा जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा. रामप्रकाश प्रधान र नेपाल पन्छी संरक्षण संघ काठमाडौंका फिल्ड अफिसर भुपाल नेपालीले डाइक्लोफेनक औषधि र गिद्ध संरक्षण अभियानबारे कार्यपत्र प्रस्तुत गरेका थिए । हालसम्म गिद्ध संरक्षण अभियानमा ५० जिल्लाले प्रतिबद्धता जनाइसकेका छन् । 
सन् २०१७ भित्र देशव्यापाी घोषणा सम्पन्न गर्ने लक्ष्य लिइएको नेपाल पन्छी संरक्षण संघ काठमाडौंका फिल्ड अफिसर नेपालीले जानकारी दिए । उनका अनुसार सन् २०१९ भित्र घोषणा र अनुगमन सकिनेछ । 
Powered by Blogger.