Header Ads


यातायात व्यवसायीद्धारा १३ गते देशभर चक्काजाम

हेटौँडा, ११ जेष्ठ/यातायात व्यवसायीले यहि जेठ १३ गते देशभरका यातायात सेवा ठप्प पार्ने भएका छन् ।
गत जेठ १ गतेबाट लागू हुने गरी तय गरिएको ट्राफिक जरिवाना सम्बन्धी संशोधित सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६३ र १६४ खारेज गर्नुपर्नेलगायतका ६ बुँदे माग राख्दै यातायात व्यवसायी आन्दोलित हुने भएका हुन् । 
यस्तै सरकारसंग विगतमा भएका सहमति कार्यान्वयन गर्नुपर्ने, सार्क क्षेत्रका चार देशमा समान हैषियतमा 
सवारी साधन सञ्चालन गर्ने सम्बन्धी व्यवस्था तत्काल खारेज गर्नुपर्ने, समय सापेक्ष विमा नीति निर्माण गर्नुपर्ने, ढुवानी ऐन निर्माण गर्नुपर्ने र यातायात क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा लागू गर्नुपर्ने माग गरिएको छ । मङ्गलबार नारायणी यातायात व्यवसायी संघमा पत्रकार सम्मेलनको आयोजना गर्दै आन्दोलनका कार्यक्रमको बिषयमा जानकारी दिएका हुन् । आन्दोलन अवधिभर कारबाहीका लागि लिइने कागजात फिर्ता लिन नजाने, देशभर माइकिङ तथा प्रचार गर्ने, देशव्यापी कोणसभा गर्ने, १२ गते माइकिङ गर्ने र १३ गते देशव्यापी चक्काजाम गर्ने कार्यक्रम रहेको नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्री चौलागाईंले जानकारी दिए । 
राज्यले भौतिक पूर्वाधारको विकास एवम् सडक प्रयोगकर्ताहरुको चेतना अभिवृद्धि नगरी जरिवाना बढाएर मात्रै ट्राफिक नियम उल्लंघनको घटना नियन्त्रण हुन्छ भन्ने ठान्नु पुरातन सोचको उपज मात्र भएको उनको भनाई छ । समस्याको बिषयमा व्यवसायी तथा मजदुरका प्रतिनिधीहरुले समेत प्रधानमन्त्री केपी शर्मा ओली तथा गृहमन्त्री शक्तिबहादुर बस्नेतलगायत संग छलफल गरी गृह प्रवक्तासंग संशोधित ऐनका बुँदाहरु आवश्यक छलफल पश्चात मात्र लागू गर्ने गरी स्थगित गर्न अनुरोध गरेपछि गृहप्रशासनले मातहतका निकायमा संशोधित नियम तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएपनि ट्राफिक प्रहरीले निर्देशनको अवज्ञा गरेको व्यवसायीको 
आरोप छ । नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनालले सडक दुर्घटनालगायतका कारक तत्व पत्ता नलगाइ जरिवाना मात्र बढि लिनु जायज नहुने धारणा राखे । यातायात व्यवसायी र यससंग सम्बद्ध सरोकारवालासंगको छलफल पश्चात नै चक्काजामको निर्णय गरिएको जानकारी दिँदै पत्रकार सम्मेलनमा मागहरु पूरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा हुन सक्ने चेतावनी समेत दिइएको छ । 
यातायात व्यवसायीको आन्दोलनलाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ नेपाल, अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघलगायतका संगठनले समर्थन जनाएका छन् ।
Powered by Blogger.