गुनासो नआउने गरी काम गर्नू : मुख्य सचिव
हेटौँडा, १० जेष्ठ/नेपाल सरकारका मुख्य सचिव सोमलाल सुवेदीले कर्मचारीको कार्यपद्धती र व्यवहारनै गुनासोको मुख्य कारण भएको बताएका छन् ।
सोमबार क्षत्रीय प्रशासन कार्यालय हेटौँडामा ‘हेलो सरकार’ अभियानको उद्घाटन गर्दै उनले जनगुनासो नआउने गरी काम गर्नको लागि मातहतका सबै कर्मचारीलाई निर्देशन दिए । ‘गुनासो अन्तबाट आउँदैन । हाम्रै कार्यपद्धती र व्यवहारका कारण जनगुनासो आउने गर्दछ’, उनले भने, ‘अब सबै कर्मचारी थप जिम्मेवार हुँदै आफ्नो कार्य क्षमताको स्तर बढाउन तर्फ लाग्नु आवश्यक छ ।’
मुख्य सचिव सुवेदीले भएका स्रोत, साधन र जनशक्तिको प्रयोगबाट भ्याएसम्म राम्रो सेवा प्रवाह गर्नका लागि निर्देशन दिए । ‘गुनासोकर्ताको सन्तुष्ट हुने अवस्थाको सृजना गर्नुपर्छ’, उनले भने, ‘जनताबाट गुनासो आउने तर त्यसको सम्बोधन नहुने हो भने कर्मचारीप्रति उदासिनता बढ्छ ।’ जनताको गुनासो आए अनुसारको सम्बोधन नभइरहेको भन्दै उनले सम्बोधन हुन सक्ने किसिमका गुनासो समेत सम्बोधन नभएको बताए । ‘सेवा प्रवाहका बिषयमा जनगुनासो सुन्नको लागि उजुरी पेटिकाको सिष्टम पनि नभएको हैन, तर त्यो खासै प्रभावकारी भएको पाइँदैन’, उनले भने ।
मध्यमाञ्चलका १६ जिल्लाको गुनासो सुन्नका लागि हेटौँडामा सोमबारबाट हेल्लो सरकार सुरु गरिएको हो । मध्यमाञ्चल क्षत्रीय प्रशासक मुकुन्दराज प्रकाश घिमिरेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका सचिवद्धय चन्द्र घिमिरे र कमलसागर घिमिरेले जनताको पीरमर्का सम्बोधनका लागि हेलो सरकार प्रभावकारी हुने धारणा राखे । जनतामा काम ढिलो भएको, काम नै नभएको, जनताको काम नगर्ने कर्मचारीलाई कार्वाही गर्नुपर्ने लगायतका नीजि गुनासोहरु बढि आउने गरेको उनीहरुको भनाई छ । जनताको पीरमर्का सम्बोधन हुन नसकेको भन्दै उनीहरुले कर्मचारीलाई थप संवेदनशिल भएर काम गर्न निर्देशन दिए ।

