गणतन्त्र दिवसमा प्रभातफेरी र प्रवचन
हेटौँडा, १५ जेष्ठ/सबै दल मिलेर संविधान कार्यान्वयन भएमात्रै गणतन्त्र दिवसले सार्थकता पाउने बताइएको
छ ।
छ ।
नवौँ गणतन्त्र दिवसको सन्दर्भमा शनिबार हेटौँडामा भएको प्रभातफेरी तथा प्रवचन कार्यक्रमका वक्ताहरुले संविधान जारी गर्ने समयमा मुलुकको राजनीतिक दलका नेताहरु एक भएझैँ संविधान कार्यान्वयनको लागि पनि सबै दल मिल्नु आवश्यक रहेकोमा जोड दिएका हुन् । मुलुकमा गणतन्त्र स्थापना एवम् नयाँ संविधानको लागि भएको आन्दोलन एवम् युद्धका क्रममा घाइते एवम् सहीद भएकाहरुको सपना पूरा गर्नको निम्ति सबै राजनीतिक दल मिल्नु आवश्यक रहेको वक्ताहरुको भनाई थियो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विश्वकर्माले संविधान जारी भएपनि कार्यान्वयनमा ढिलाई भैरहेको भन्दै यसमा सबै राजनीतिक दलको सकृयता आवश्यक रहेको औँल्याए । यस्तै नेपाली काँग्रेसका निवर्तमान जिल्ला सभापति रघुरमण न्यौपानेले राज्यसंग अधिकार मागिरहँदा आफ्नो जिम्मेवारी के हो भन्ने बिषय कसैले पनि भुल्न नहुने धारणा राखे । यस्तै नेकपा एमाले मकवानपुर अध्यक्ष मुनु सिग्देलले संविधान कार्यान्वयन अहिलेको पहिलो आवश्यकता भएको औँल्याइन् ।
नेकपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष एवम् पूर्व सभाषद् प्रेमबहादुर पुलामी छिन्तुले राजनीतिक दलका नेताहरु एक अर्कामा आरोप प्रत्यारोप गरेर बस्नु भन्दा एकजुट भएर संविधान कार्यान्वयनमा लाग्नु आवश्यक रहेकोमा जोड दिए ।
राप्रपाका क्षत्रीय अध्यक्ष सिताराम बर्तौलाले पार्टी र गुटपिच्छेका सहीद हुँदा देशको निम्ति लड्ने वास्तविक सहीदको अवमुल्यन भएको बताए ।
गणतन्त्र दिवस मूल समारोह समितिका संयोजक स्थानीय विकास अधिकारी लक्ष्मणबिक्रम थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर सचिव कृष्ण सारु मगर, गैसस महासंघ मकवानपुरका अध्यक्ष कृष्ण धिताललगायतले सहीदको सपना पूरा गर्नको निम्ति संविधान कार्यान्वयन आवश्यक रहेको धारणा राखेका थिए । हेटौँडा–११ सहीदस्मारकको मुलगेटबाट सुरु भएको प्रभातफेरी ¥याली स्मारकमा पुगेको थियो । ¥यालीका सहभागीले स्मारकमा रहेको सहीदको प्रतिमामा माल्यार्पण गरेका थिए ।
