Header Ads


तरुण दल मकवानपुरको नेतृत्वका लागि तीनजना आकांक्षी

हेटौँडा, १५ जेष्ठ/मुलुककै सबै भन्दा ठूलो दल नेपाली काँग्रेसको युवा दस्ता तरुण दलको चुनावी सरगर्मी मकवानपुरमा पनि सुरु भएको छ । 
यहि जेठ २५ गते हुने जिल्ला सम्मेलनबाट तरुण दलको नेतृत्व लिनको निम्ति तीनजनाले इच्छा देखाउँदै आफ्नो पक्षमा माहौल खडा गर्न दौडधुपमा रहेका छन् । नेतृत्व हत्याउने दौडमा रहेका युवामा हालका तरुण दल अध्यक्ष सुनिल दाहालसंगै राजेश भेटवाल र ईश्वर पाठक रहेका छन् । 
तीनैजनाले आफू अध्यक्ष हुने दावी प्रश्तुत गर्दै आफ्नो पक्षमा माहौल सृजना गर्न लागिपरेका छन् । अहिले पनि अध्यक्ष पद सम्हालिरहेका दाहालले बाँकी कार्यभार पूरा गर्नको निम्ति आफूले नेतृत्व दोहो¥याउन चाहेको बताएका छन् । ‘हिजो तरुण नै नभएको तरुण दल मलाई जिम्मा लगाइएको थियो । आज तरुण दलमा युवा आकर्षण बढ्दो अवस्थामा रहेको छ । मैले अध्यक्ष भएर केही काम पक्कै गरेको छु भन्ने लाग्छ’, दाहालले भने, ‘अझै धेरै काम गर्न बाँकी रहेको छ । बाँकी कार्यभार पूरा गर्नको लागि मैले फेरि नेतृत्व दोहो¥याउनुपर्छ भन्ने तरुण साथीहरुबाट र हाम्रा अग्रज नेताबाट पनि सुझाव आएकोले दोहो¥याउने इच्छा देखाएको हुँ ।’ युवालाई अघि बढाउँदै राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तरुण एकतालाई अघि बढाउनको लागि आफू फेरि अध्यक्ष बन्न लागेको दाहालको भनाई छ । ‘हाम्रा पूर्व सभापति स्वर्गीय सुशील कोइरालाको नेतृत्वमा जारी भएको संविधान कार्यान्वयन गराउनको लागि पनि तरुण दलमा मेरो नेतृत्व आवश्यक रहेको छ’, उनले भने, ‘वाइसीएल र युथ फोर्सको दबदबा र दादागिरी रहेको अवस्थामा तरुण दल सम्हालेको मैले आज यो अवस्था सम्म ल्याउन सफल भएको छु । हिजो मलाई तरुणको अध्यक्ष पद दिइएको पद हो । म निर्वाचित थिइन, अब निर्वाचित हुन चाहन्छु र तरुण दल मकवानपुरमा अझै केही नयाँ गर्न चाहन्छु ।’ 
यस्तै अध्यक्ष बन्ने दौडधुपमा रहेका राजेश भेटवालले तरुण दलमा रहेका नेता कार्यकर्ताको चाहना र माग अनुसार आफू अध्यक्ष बन्नुपर्ने आवश्यकता रहेको 
बताए । ‘जिल्ला कमिटी सदस्य मात्र रहँदा पनि पार्टी र तरुण दलमा अहम् भूमिका निर्वाह गरेको छु । पार्टीको संस्थागत विकासको निम्ति तरुण र काँग्रेस पार्टीको लागि जिम्मेवारी निर्वाह गर्दै आएको छु’, भेटवालले भने, ‘तरुण र काँग्रेसमा नै युवाहरुलाई प्रवेश गराई पार्टीले दिएको दायित्व समेत निर्वाह गरेको कारण पनि मैले अध्यक्ष भएर काम गर्न पाउनुपर्छ भन्ने मेरो भनाई रहेको छ ।’ 
तरुण युवालाई व्यवसायिक, राजनीतिक एवम् वैचारिक रुपमा परिवर्तन गराई काँग्रेसको मुलधारमा हिँडाएको दावी गर्दै उनले तरुण युवालाई संस्थागत र सांगठनिक संरचनामा व्यवस्थापन गरी व्यवसायिक, राजनीतिक एवम् वैचारिक रुपमा अघि बढाउनका लागि लागिपर्ने प्रतिक्रिया दिए । ‘मेरो विशेष अनुरोधमा तरुण दल र काँग्रेसमा प्रवेश गरेका युवा साथीहरुलाई उचित व्यवस्थापन गर्दै पुराना साथीहरुप्रति सम्मान व्यक्त गर्नका लागि पनि मैले नेतृत्व गर्नुपर्छ भन्ने लागेको छ’, भेटवालले भने । यस्तै करिब दुई बर्षअघि युवा संघबाट तरुण दलमा प्रवेश गरेका ईश्वर पाठकले युवालाई स्रोजगार बनाउँदै, संगठित रुपमा अघि लैजानको लागि तरुण दल मकवानपुरको नेतृत्व लिन चाहेको प्रतिक्रिया दिए । 
‘म अध्यक्ष भएँ भने धेरै नयाँ कुरा हुनेछन् । युवालाई एकढिक्का बनाएर अघि बढ्नेछु’, उनले भने, ‘तरुण दलमा तरुणहरुको धेरै खाँचो रहेको छ । म अध्यक्ष बनेसंगै तरुण दलमा युवा प्रवेशको लहर छाउनेछ ।’ युवा संघ र वाइसीएलमा रहेका युवाहरु पनि तरुण दलमा आउन चाहेको बताउँदै उनले त्यसको लागि उनीहरुले ईश्वर पाठकको नेतृत्व चाहेको बताए । ‘एक घर एक तरुण बनाउने ईश्वर पाठकको अभियान हो’, उनले भने, ‘एमालेमा रहेर धेरै बर्ष काम गरियो, त्यसको समेत मुल्यांकन गर्दै पार्टीका जिम्मेवार व्यक्तित्व र तरुण साथीहरुले मलाई नेतृत्व दिनुहुनेछ भन्ने विश्वास रहेको छ ।’ तपाईं नेतृत्व गर्नूस, हामी तपाईं संगै रहनेछौँ भन्नेहरु धेरै रहेको उनको भनाई छ । दाहाल, भेटवाल र पाठक तीनैजनाले सर्वसम्मत नेतृत्व चयनको लागि पहल गर्नु आवश्यक रहेको बताएका छन् । 
Powered by Blogger.