Header Ads


मयुरधापको योजना खानेपानी बोर्डलाई

हेटौँडा, ५ जेष्ठ/खानेपानी संस्थानबाट खानेपानी व्यवस्थापन बोर्ड भएपश्चात हेटौँडाका बासिन्दाले सहज रुपमा खानेपानी उपभोग गर्न पाइरहेका छन् । 
यसै अवस्थामा हेटौंडा–१६ मयुरधापमा रहेको खानेपानी तथा सरसफाई उपभोक्ता समितिको स्वामित्वको खानेपानी योजनालाई हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमका बीच उपभोक्ता समितिले बोर्डलाई ११ लाख रुपियाँ बचतसहित योजना नै हस्तान्तरण गरेको हो । 
२०६६ सालमा सम्झौता भएर २०६८ सालबाट सञ्चालनमा आएको खानेपानी योजना बुधबारबाट बोर्डले आफ्नो स्वामित्वमा लिएको हो । मयुरधाप खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष गोपालबहादुर थपलियाले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टलाई खानेपानीको योजना हस्तान्तरण गरेका हुन् । योजना हस्तान्तरण गर्दै अध्यक्ष थपलियाले अहिले भइरहेको वितरण प्रणालीमा थप सुधार हुने अपेक्षा व्यक्त गरे । ‘बोर्डको कामप्रति चित्त बुझेकोले हामीले योजना बोर्डलाई हस्तान्तरण गरेका हौँ’, उनले भने, ‘यसपश्चात अझै राम्रो हुनेछ भन्ने हाम्रो अपेक्षा रहेको छ ।’ 
योजनाबाट मयुरधापका तीनसय १९ घरधुरी प्रत्यक्ष लाभान्वित हुने बताइएको छ । खानेपानी योजना ग्रहण गर्दै खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टले खानेपानीको वितरण प्रणाली थप प्रभावकारी र गुणस्तरीय हुनेमा ढुक्क हुन स्थानीयलाई अनुरोध गरे । आम उपभोक्ताको महशुल सम्बन्धी जिज्ञासाको बिषयमा उत्तर दिँदै बिष्टले खानेपानीको उपभोग अनुसार मात्र महशुल तिर्नुपर्ने प्रष्ट्याए । कार्यक्रममा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय हेटौंडाका प्रमुख सुरेश महाजु, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी प्रमुख सुदर्शन ढकाल, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका सदस्य इन्द्र नेपालसहित स्थानीय अगुवाहरुको उपस्थिति थियो ।
Powered by Blogger.