Header Ads


करेण्ट लागेर एकजनाको मृत्यु

हाँडीखोला, ९ जेष्ठ/नेपाल विद्युत प्राधिकरणको लापरबाहीको कारण मकवानपुरको हाँडीखोला–६ मिलडाँडामा करेण्ट लागेर एकजनाको मृत्यु भएको छ । 
शनिबार राति साँढे १० बजेको समयमा ११ हजार भोल्टेजको तारमा परेर स्थानीय ७३ बर्षीय शेरबहादुर घलानको घटनास्थलमै मृत्यु भएको हो । घर जाँदै गरेका घलान बाटो काट्ने क्रममा बाटोमा चुँडिएको विजुलीको तारमा अल्झेर लडेको र करेण्ट लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । 
करेण्ट लागेका घलानलाई बचाउन खोज्दा घलानको छोरा समेत सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ । केहीदिन देखि तारको अवस्था अस्तव्यस्त देखेपछि स्थानीयले विद्युत प्राधिकरणमा जानकारी गराउँदा समेत प्राधिकरणले वास्ता नगरेको स्थानीयबासीको आरोप छ । 
मृतकका छोरा सोमलाल घलानले भने मिलडाँडामा रहेको एनसेल कम्पनीको टावरमा लगिएको विजुलीको तार अस्तव्यस्त भएका कारण आफ्नो बुवाले ज्यान गुमाउनुपरेको बताएका
छन् । ‘एनसेल कम्पनीको टावरमा लगिएको विजुलीको तारमा परेर मेरो बुवाको मृत्यु भएको हो’ उनले भने, ‘एनसेल कम्पनीका प्रतिनिधीलाई झिकाएर कार्वाही एवम् उचित क्षतिपुर्तीको माग गर्दछु ।’

पुरानो पोल मुख्य समस्या
हाँडीखोला÷हाँडीखोलाका बासिन्दाले विद्युतको पोल पुरानो भएको कारण समस्या भएको बताएका छन् । शनिबार राति करेण्ट लागेर एकजनाको मृत्यु भएसंगै स्थानीय आक्रोशित भएका छन् ।
विजुलीको लागि गाढिएको काठको पोल पुरानो भएकोले नयाँ राख्नुपर्ने माग गर्दै पटक पटक विद्युत प्राधिकरणमा निवेदन दिँदा समेत कुनै सुनुवाइ नभएको स्थानीयको भनाई छ । ‘हाँडीखोलामा विद्युत विस्तार भएको १५ बर्ष हुन लाग्यो । त्यो बेला गाडिएको सालको पोल कामै नलाग्ने अवस्थामा पुगिसकेको छ’ हाँडीखोला–७ का रामहरि बिष्टले समस्याको बिषयमा जानकारी दिँदै भने, ‘यहि कारणले बेला बखतमा यस्तो घटना हुने गरेको हो । समस्या समाधानमा प्राधिकरणले कुनै चासो नदिँदा समस्या भैरहेको छ ।’
यस्तै हाँडीखोला–६ लामिटारका होत्तप्रसाद अधिकारीले विद्युत प्राधिकरणले १० वटा सिमेण्टको पोल दिएको भएपनि गाड्ने चासो नदेखाउँदा समस्या भैरहेको
सुनाए । ‘पटक पटक प्राधिकरण धाएर १० वटा पोेल ल्याएका थियौँ । त्यो गाड्नको लागि प्राधिकरणले मान्छे नपठाउँदा समस्या भएको छ’ उनले भने । विद्युतको पोलको अवस्था र शनिबार राति भएको घटनाको बिषयमा जानकारी गराउँदै स्थानीयले जिल्ला प्रशासन कार्यालय मकवानपुर र एनसेलको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । पुराना पोलको ठाउँमा नयाँ राखिनुपर्ने र मृतकको परिवारलाई क्षतिपुर्ती दिनुपर्ने स्थानीयको माग छ । 
Powered by Blogger.