ताजकिस्तान लागे कार्की र खैरे
हेटौँडा, १० जेष्ठ/मकवानपुरका दुई खेलाडी सम्मिलित नेपालको १४ बर्ष मुनिको फुटबल टोली ताजकिस्तानमा हुने युथ–१४ फेस्टिबल फुटबल प्रतियोगितामा सहभागी हुन ताजकिस्तान तर्फ लागेको छ ।
प्रतियोगितामा सहभागी हुने १८ खेलाडी र चार अफिसियल टोलीलाई सोमबार अखिल नेपाल फुटबल संघले एक कार्यक्रमको आयोजना गरी विदाइ गरेको हो । प्रतियोगितामा सहभागी हुने टोलीमा मकवानपुरका दुईजना खेलाडी र एकजना अफिसियल छन् ।
उक्त टोलीमा हेटौंडाबाट गोलरक्षक रोहीत कार्की र फरवार्ड सञ्जीव अर्याल (खैरे) रहेका छन् भने टीम म्यानेजरमा हेटौंडाका चर्चित फुटबल क्लब एफसी इन्टरनेटका अध्यक्ष मणिष श्रेष्ठ पनि युथ टोलीसँगै त्यसतर्फ प्रस्थान गरेका छन् । श्रेष्ठ टिम म्यानेजरको भूमिकामा खेलाडीसंगै त्यसतर्फ लागेका हुन् । उनका अनुसार प्रतियोगितामा ६ देशले सहभागिता जनाउनेछन् । प्रतियोगितामा नेपालसहित अफगानिस्तान, इरान, भारत, ताजकिस्तान र कार्जगिस्तान छन् । प्रतियोगिता विहीबारबाट सुरु हुनेछ ।
टोली जेठ १६ गते विहीबार नेपाल फर्कनेछ । यो प्रतियोगिता युवा खेलाडी उत्पादन गर्ने र उनीहरुले आफ्नो ‘प्लेटफर्म’ तयार पार्ने थलो भएको तर्क गर्दै श्रेष्ठले खेलाडीहरुले आफ्नो प्रतिभा देखाउने स्थानको रुपमा यस प्रतियोगिता रहेको बताए । ‘हाम्रा खेलाडीले राम्रो खेल कौशल देखाउनेछन् भन्नेमा विश्वस्त रहेका छौँ’ टिम म्यानेजर श्रेष्ठले थपे, ‘नेपाली टोलीका खेलाडी निकै राम्रो रहेको हामीले पाएका छौँ । मकवानपुरबाट टोलीमा सहभागी भएका दुईजना भाईहरुले पनि राम्रै गरिरहेका छन् ।’

