रुद्र–सेन पत्रकारिता पुरस्कारबाट शर्मा र खड्का पुरस्कृत
हेटौँडा, १३ जेष्ठ/पत्रकार कृष्ण सेन इच्छुक तथा जननेता रुद्र पाख्रिनको स्मृतिमा क्रान्तिकारी पत्रकार संघ मकवानपुरले स्थापना गरेको रुद्र–सेन स्मृति पत्रकारिता पुरस्कार–२०७३ नवराज शर्मा र संगीता खड्कालाई प्रदान गरिएको छ ।
क्रान्तिकारी पत्रकार संघ नेपाल मकवानपुरले विहीबार हेटौंडामा पुरस्कार वितरण समारोहको आयोजना गरी नयाँ प्रकाश साप्ताहिकका प्रकाशक नवराज शर्मा र नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव संगीता खड्कालाई नगद पाँचहजार रुपियाँसहित दोसल्ला ओढार सम्मानपत्र प्रदान गरेको हो ।
पुरस्कृृत पत्रकारद्धय शर्मा र खड्कालाई क्रान्तिकारी पत्रकार संघ प्रदेश नम्बर–३ प्रदेश इञ्चार्ज बलराम थापा, नेकपा माओवादी (केन्द्र) केन्द्रीय सदस्यद्वय कुमारी मोक्तान र प्रेमबहादुर पुलामीले सम्मानपत्रसहित नगद प्रदान गरेका थिए । कार्यक्रममा मन्तव्य व्यक्त गर्ने अधिकांशले पत्रकारिताको विगत र अहिलेको अवस्था र रुद्र पाख्रिन र कृष्ण सेनले माओवादी आन्दोलनमा पु¥याएको योगदानको चर्चा गरेका थिए । सोही कार्यक्रममा रुद्र पाख्रिनकी पत्नी राममाया पाख्रिनलाई पनि दोसल्ला ओढार सम्मानित गरिएको थियो ।
क्रान्तिकारी पत्रकार संघ जिल्ला अध्यक्ष नानीमैया बिष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा सम्मानित व्यक्तित्वद्वय शर्मा र खड्का, नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुर उपाध्यक्ष गिरीजा अधिकारी तथा आयोजक संघ जिल्ला उपाध्यक्ष अञ्जली थापालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

