सकियो पाँचदिने योगशिविर
हेटौँडा, १३ जेष्ठ/हेटौँडामा सञ्चालन भएको पाँचदिने योग शिविर सकिएको छ ।
पतञ्जली योग जिल्ला समिति मकवानपुरको आयोजनामा हेटौँडाको हुप्रचौरमा भएको योग विज्ञान शिविर बिहीबार औपचारिक कार्यक्रमका बीच सकिएको हो । गत ८ गतेबाट सञ्चालन भएको शिविरमा मौसमको प्रतिकुल अवस्थाका वावजुद पनि करिब ७ हजार ५ सय मानिसले योगको प्रशिक्षण लिएको बताइएको छ । आयोजकले १० हजार मानिस हुप्रचौरमा उतार्ने बताएको थियो । बिहीबार पतञ्जली योग समिति नेपालका संरक्षक तथा पूर्व प्रहरी नायब महानिरीक्षक ज्ञानेन्द्रविक्रम महतले दीप प्रज्ज्वलन गरी सुरु गरेको शिविरको समापन अग्नि हवन र पूर्णाहूतिसहित गरिएको थियो ।
अध्यक्ष थापाको अध्यक्षतामा भएको समापन कार्यक्रममा क्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक पशुपति उपाध्याय, हेटौंडा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत सुदेव पोखरेल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मीरा चौधरी, जिल्ला खेलकुद विकास समितिका प्रमुख राजन दाहाललगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीको आतिथ्यता रहेको थियो । शिविरमा पतन्जलीका केन्द्रीय प्रभारी लवदेव मिश्र र लोकनाथ खनालले योग प्रशिक्षण दिएका थिए । समितिले ५ दिनसम्म हेटौंडा स्कूल अफ म्यानेजमेन्ट, हेटौंडा एकेडेमी, निर्मल उच्च मावि र श्रमिक माविमा करिब ६ सय ५० विद्यार्थीलाई योग प्रशिक्षणसहित अनुशासन, शरीर र स्वास्थ्य विज्ञानबारे जानकारी गराएको थियो ।
शिविरमा समितिको हेटौंडा–४, श्रमिकपथमा निर्माण हुन लागेको समितिको भवनका लागि सहयोग जुटेको छ । राजु अधिकारीबाट ११ हजार, रेडक्रसका सभापति सूर्यचन्द्र न्यौपानेले १० हजार, श्याम पाठक, जानकी चौधरी र ज्ञानभक्त लामाले जनही ५÷५ हजार सहयोग गरेको थापाले जानकारी दिए ।
