खानेपानी बोर्ड विस्तारित नगरतर्फ
हेटौँडा, २१ जेष्ठ/नेपाल खानेपानी संस्थान शाखा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण भएसंगै खानेपानीका समस्या विस्तारै हल हुँदै गएको हेटौँडेली जनताले बताउँदै आएका छन् ।
खानेपानी बोर्डले आगामी आर्थिक वर्षदेखि आफ्नो योजनाहरु हेटौंडा नगरको विस्तारित क्षेत्रमा पनि लैजाने भएको छ । बोर्डको तेस्रो बार्षिकोत्सवको अवसरमा शुक्रबार हेटौंडामा तेस्रो बार्षिकोत्सव तथा पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै आगामी आर्थिक वर्षमा आफ्ना योजनाहरु विस्तारित नगरको हटिया, हर्नामाडी, पदमपोखरी र चुरियामाई क्षेत्र लक्षित हुने जानकारी दिएको हो । साविकको हेटौंडा नगरपालिका उपमहानगरपालिकामा समाहित भएसँगै खानेपानी वितरण चुनौतीपूर्ण देखिएको भन्दै बोर्ड अध्यक्ष प्रताप बिष्टले आगामी आर्थिक वर्षबाट विस्तारित नगरलाई मध्यनजर गरेर खानेपानी योजना निर्माण, विस्तार र वितरण गर्ने बताए ।
अध्यक्ष बिष्टका अनुसार हर्नामाडीमा करिब २० करोड रुपियाँ लागतमा खानेपानी योजना निर्माण सुरु भएको, पदमपोखरीका लागि पनि खानेपानी सहज बनाउन डीप ट्युबेल निर्माण गरिने, हटिया क्षेत्रका लागि गुरुयोजना तयार भइसकेको र विभिन्न स्थानमा रिजर्भ ट्यांकी निर्माण गर्न जग्गा प्राप्ती भएको छ । हाल साविकको हेटौंडा नगरपालिकाको १ देखि १० नम्बरसम्मका सम्पूर्ण वडा र हालको वडा नम्बर १६, १७ र १८ का केही क्षेत्रमा गरी १२ हजार ८७ धाराहरुबाट ८५ हजार जनसंख्यालाई खानेपानी वितरण गरिसकेको छ । खानेपानी संस्थानबाट बोर्डमा हस्तान्तरण भइसकेपछि पाँचवटा नया डीप ट्युबेल निर्माण भएको र दुईवटा पुरानो ट्युबेल सञ्चानमा ल्याई दैनिक करिब ३५ लाख लिटर पानी उत्पादन क्षमता बृद्धि गरिएको बताइएको छ ।
बोर्डले चालु आर्थिक वर्षको वैशाखसम्ममा तीनकरोड ४८ लाख २६ हजार छसय २० रुपियाँ आम्दानी
गरेको छ भने दुईकरोड ९२ लाख ७५ हजार तीनसय नौ रुपियाँ खर्च भएको जनाएको छ । बोर्डले आगामी आर्थिक वर्षमा करिब पाँचकरोड ३३ लाख ५३ हजार रुपियाँ आम्दानी गर्ने जनाएको छ । यसअवधिमा दैनिक औषतमा एककरोड दुईलाख लिटर पानी बोर्डले वितरण गरिरहेको छ । बोर्डका निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकालका अनुसार वैशाख महिनासम्ममा २८ लाख ५२ हजार सातसय २५ रुपियाँ अग्रिम महसुल (पेश्की) ग्राहकबाट प्राप्त भएको छ । वैशाखसम्ममा ४२ लााख ५२ हजार चारसय १६ रुपियाँ महसुल उठ्न बाँकी रहेको छ भने दशलाख ८६ हजार रुपियाँ बक्यौता उठ्न बाँकी रहेको निर्देशक ढकालले जानकारी दिए ।
बार्षिकोत्सव कार्यक्रममा चारजना कर्मचारीलाई जनही नगद पाँचहजार रुपियाँसहित सम्मानित गरिएको थियो । बार्षिकोत्सवमा राजस्वतर्फका शारदा दाहाल र कुमार लामिछाने तथा उत्पादन तथा वितरणतर्फका दीप बस्नेत र युदनाथ पाण्डेलाई सम्मानित गरिएको थियो । बोर्ड अध्यक्ष बिष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा बोर्ड सदस्य कृष्ण धिताल, नेपाल पत्रकार महासंघ मकवानपुर शाखा सचवि कृष्णसारु मगरलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
