Header Ads


संविधान र बजेट दुवै उत्कृष्ट ः बिष्ट

हेटौँडा, १३ असार/नेकपा एमालेका सचिव एवम् मोर्चा फाँट प्रमुख गोकर्ण बिष्टले नेपालको संविधान दुनियाँको धेरै संविधान भन्दा उत्कृष्ट रहेको दावी गर्दै एमाले सरकारले ल्याएको बजेट, नीति तथा कार्यक्रम समेत उत्कृष्ट भएको बताएका छन् । 
सोमबार नेकपा एमाले मकवानपुरको मोर्चा संगठनले आयोजना गरेको २०७३÷०७४ को नीति तथा कार्यक्रम र बजेट विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यो बजेटले समाजवादको बाटो तय गर्ने आधार देखाएको दावी गरे । ‘नीति कार्यक्रम र बजेट नेकपा एमालेको मार्गदर्शनमा आएको छ । 
संविधानको आधारभुत कुरामा टेकेर आएको यस बजेटले राजनीतिक नीति निर्माण र निर्णय प्रक्रियामा आत्मनिर्भर बन्नका लागि बाटो देखाएको छ’, उनले भने । नेता बिष्टले यस बजेटले राष्ट्रिय स्वाधिनताको जग बसाल्ने बाटो देखाएकोमा जोड दिँदै भने, ‘बजेटले मुलुकको आर्थिक समृद्विको बेसिक कुरा उठाएको छ ।’ बजेटले कर्मचारीको तलवबृद्वि गरेसंगै मुल्यबृद्वि भएको भन्ने तर्कको प्रतिवाद गर्दै उनले देशसंग उत्पादन नभएपछि व्यापार घाटा र महंगी स्वभाविक रहेको टिप्पणी गरे । बिष्टले मुलुकमा रोजगारीको धेरै सम्भावना रहेको बताउँदै त्यसको लागि कृषिको आधुनिकिकरण र व्यवसायिकरण आवश्यक रहेकोमा जोड दिए । 
यसको लागि सरकारको ठोस नीति र कार्यक्रम आवश्यक रहेको उनको भनाई थियो । नेता बिष्टले एमाले सरकारमा टिकिरहनको निम्ति पार्टीमा एकताबद्ध हुनु जरुरी रहेको औँल्याए । यस्तै एमालेको लेखा आयोग अध्यक्ष डा. पुष्प कँडेलले योजना आयोगको सिलिङ अनुरुपले वर्तमान सरकारले नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको दावी गरे । 
‘कर्मचारीको तलव बढाइएको बिषयमा पनि अनावश्यक हल्ला फैलाइएको अवस्था छ’, कँडेलले भने, ‘दुईतीन बर्षदेखि तलव नबढेको कारणले यस बर्ष २५ प्रतिशत तलव बृद्धि गरिएको हो ।’  उनले नेपालको अर्थतन्त्रलाई असर पार्ने खालको बजेट नभएको दावी गर्दै कार्यान्वयनमा भने समस्या रहेको स्वीकारे । यस बर्षको बजेटले पूर्वाधार र यातायातलाई जोड दिएको दावी गर्दै उनले स्वाभिमान र स्वाधिनतामुखसी बजेट भएको दावी गरे । कँडेलले चेतनाको पाटोमा भने बजेट कमजोर भएको स्वीकार गरे । ‘शिक्षाको क्षेत्रमा बजेट घट्यो’, उनले भने, ‘शिक्षामा नयाँ कार्यक्रम आउन सकेन भन्ने गुनासो पनि छ ।’ 
उनले यहि सरकारले आगामी निर्वाचनसम्म काम गर्न पाउनुपर्ने माग समेत गरे । नेकपा एमाले मकवानपुरका मोर्चा फाँट प्रमुख श्रीधर पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईंले स्वागत मन्तव्य व्यक्त गरेका हुन् । 
Powered by Blogger.