Header Ads


स्कूल जानुपर्ने केटाकेटी खानेपानी बोक्न बाध्य

हेटौँडा, २० जेष्ठ/बिहान बेलुकी घरमा बसेर पढ्ने समयमा सुरेश थोकर दैनिक चार घण्टा खानेपानी ओसार्छन् । छतिवन–६ राजदमार (बल टोल) का थोकर बिहान छ बजेदेखि आठ बजेसम्म घरबाट आधा घण्टाको दुरीमा रहेको बलखोलाबाट पानी ओसार्छन् । 
हतार हतार गृहकार्य सकाएर खाना खाएपछि गितावर निमाविमा पढ्न जान्छन् । कक्षा चारमा अध्ययनरत उनी साँझ पनि विद्यालयबाट आउने बित्तिकै जर्किन बोकेर खानेपानी लिन दौडिहाल्छन् । पानी ओसारेर विद्यालय पुग्न ढिला हुँदा थोकरले धेरै पटक विद्यालयमा सजाँय पाएका छन् । 
थोकरजस्तै यहाँ रहेको २० तामाङ परिवारका बालवालिका घरमा बसेर पढ्नुपर्ने बेला खानेपानी ओसार्न बाध्य छन् । ‘धारामा पानी आउँदैन, बुवाआमा काममा जानुहुन्छ’, थोकरले भने, ‘घरमा खान र  गाईबस्तुलाई खुवाउँन दिनकै पानी ओसार्नुपर्छ ।’ विगत ७÷८ बर्षयता मुहान सुकेपछि गाउँदेखि आधा घण्टाको दुरीमा रहेको मुहानबाट खानेपानी ओसारेर जीविकोपार्जन गर्नुपरेको स्थानीय सुकुमाया थोकरको भनाई छ । 
‘घरअघि धारा छ । तर पानी छैन’, उनले भनिन्, ‘खेतीपाती र ज्याला नगरी खान पुग्दैन, त्यसैले खानेपानी ओसार्न बच्चाहरुलाई लगाउने गरेका छौं ।’ २०५४ सालमा गाउँबाट चार किलोमिटर दुरीमा रहेको कत्लेखोलाबाट एक गैह्रसरकारी संस्थाले गाउँमा खानेपानीको धारा जडान गरिदिएको थियो । २०६० सालको बाढी पहिरोले खानेपानीको पाईप बगाएपछि खानेपानीको अभाव शुरु भएको ८ नम्बर वडा नागरिक मञ्चका संयोजक चिनिया लामाले बताए । ‘त्यसपछि पनि डँढेलो र बाढी पहिरोले धरै ठाउँको पाईपमा क्षति पु¥याएको छ’, उनले भने, ‘यस वडाका करिब एकसय परिवार खोला र मुहानबाट पानी ओसारेर खान बाध्य छन् ।’ 
उक्त खानेपानी योजना मर्मत गरी सुचारु गर्न करिब पाँच लाख रुपैयाँ खर्च लाग्ने लामाले बताए । पैसा हुनेहरुले इनार खनेर पानी खाईरहेपनि लोडसेडिङको समयमा खोला धाउनुपर्ने समस्या रहेको स्थानीय सोमलाल जिम्बाले बताए । ‘पानी ओसारेको वर्षौ भईसक्यो, अझैपनि गाउँमा खानेपानीको व्यवस्था नभएपछि ईनार खन्न थालेको छु’, उनले भने । खोलाको पानी खाँदा बेला बखत रुघाखोकी, झाडावान्ता लगायतका 
रोगबाट ग्रसित हुनुपरेको जिम्बाले गुनासो गरे । ८ नम्बर वडाकै देउडी र जलहानीमा पनि खानेपानीको समस्या रहेको छ । ‘सुख्खा ठाउँ भएकाले इनार खनेपनि पानी आउँदैन’ देउडीका सानुबहादुर थिङले भने, ‘हामीहरु वर्षौदेखि सुकौरा खोलाबाट पानी ओसारेर खाईरहेका छौं ।’ 
गितावर निमाविका प्रधानाध्यापक हरिहर खनालले खानेपानीको समस्याले विद्यार्थीको पढाई प्रभावित हुने गरेको बताए । छतिवन गाविसका सचिव शिवराम बोहराले ८ नम्बर वडामा खानेपानी मर्मतका लागि यस वर्ष एकलाख रुपैयाँ छुट्याएको बताए ।
Powered by Blogger.