तरुण प्रवेशको लहर छाउनेछ :पाठक
हेटौँडा, ४ असार/नेपाल तरुण दल मकवानपुरको सभापतिमा ईश्वर पाठक सर्वसम्मत चयन भएका छन् ।
शुक्रबार र शनिबार भएको चौथो जिल्ला अधिवेशनले पाठकको नेतृत्वमा सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन गरेको हो । उपसभापतिमा रामकुमार रायमाझी हारा शुक्रबारै सर्वसम्मत भैसकेका थिए । तरुणको सचिवमा पुन ः सचित थापा चयन भएका छन् भने कोषाध्याक्षमा सूर्य रोक्का चयन भए । जिल्ला अधिवेशनले केन्द्रीय पार्षद् खुला तर्फ सुनिल दाहाललाई चयन गरेको छ भने महिला तर्फ मालती विश्वकर्मा, महिला महाधिवेशन प्रतिनिधी खुलातर्फ उर्मिला उप्रेती, समावेशीमा एशोदा थापा, आदिवासी जनजाति प्रतिनिधीमा उदासकुमार ब्लोन, केन्द्रीय महाधिवेशन प्रतिनिधी दलिततर्फ डम्बरध्वज विक र अल्पसङ्ख्यक पिछडावर्ग तर्फ रमेश प्रजा चयन भएका निर्वाचन अधिकृत विदुरविक्रम थापाले जानकारी दिए । तरुण दलको नवनिर्वाचित सभापति पाठकले नगर, क्षेत्र हुँदै जिल्लासम्म सर्वसम्मत नेतृत्व चयन हुनुले सकारात्मक सन्देश दिएको र तरुण तथा काँग्रेसमा कुनै विवाद छैन भन्ने बिषय प्रष्ट भएको बताए ।
‘म एक्लैले चाहेर तरुण दल मकवानपुरमा केही हुनेवाला छैन’, उनले भने, ‘हामी सबै मिलेर काँग्रेसको नीति र सिद्वान्त अनुसार अघि बढ्नु आवश्यक छ ।’ तरुण दलमा पछिल्लो समय युवाको आकर्षण बढ्दै गइरहेको भन्दै उनले अब तरुण दलमा युवा प्रवेशको लहर छाउने बताए । काँग्रेस मकवानपुर सभापति इन्द्र बानियाँले सर्वसम्मत नेतृत्व चयन भएसंगै एकताको सन्देश गएको बताए । ‘तरुणमा जोश, सोच र होस हुनुपर्छ । जोश मात्र भएकोलाई युवा भनिन्छ । जोश, सोच र होस तीनवटै गुण भएकोलाई तरुण भनिन्छ’, बानियाँले भने । मकवानपुरमा काँग्रेस पार्टी दक्षिणपन्थी र उग्रवामपन्थीको बीचमा रहेको भन्दै उनले तरुणले पार्टीको नीति र सिद्वान्तमा खलल नआउने गरी काम गर्नुपर्ने निर्देशन दिए । उनले तरुण दल मकवानपुरका भर्खरै निवर्तमान सभापति भएका सुनिल दाहाललाई पार्टीको जिल्ला सदस्यमा मनोनित गर्ने उद्घोष गरे । यस्तै तरुण दल मकवानपुरका निवर्तमान सभापति सुनिल दाहालले सबैलाई समन्वय गरी तरुण युवाको हक अधिकारको क्षेत्रमा लाग्नको निम्ति नयाँ कार्यसमितिलाई सुझाव दिए । ‘तरुण एकढिक्का रहँदा कसैले चलाउन सक्दैन’, दाहालले भने, ‘सबै क्षेत्रका साथीहरुलाई समेट्दै मकवानपुरमा नमूनालायक काम गर्नको निम्ति शुभकामना दिन चाहन्छु ।’ केन्द्रीय प्रतिनिधी नविन सिंहको अध्यक्षतामा भएको कार्यक्रममा तरुण पूर्व केन्द्रीय महासचिव पदम पालुङ्गा, पार्टी निवर्तमान सभापति रघुरमण न्यौपाने, पूर्व सभापति माइकल रामचन्द्र अर्याललगायतले नव निर्वाचित तरुण दलको कार्यसमितिलाई निर्देशन दिएका थिए ।
सहसचिवसहित पाँच जना मनोनित
हेटौँडा/नवनिर्वाचित तरुण सभापति इश्वर पाठकले निरशंकर लामालाई सहसचिवमा मनोनित गरेका छन् ।
यस्तै जिल्ला कमिटी सदस्यमा सन्तोष सापकोटा, रुपकराज दाहाल, साधुराम कठायत ९समिर० र राजु नेपाललाई चयन गरेका छन् । विभिन्न पदमा उम्मेदवारी दिएर सर्वसम्मत नेतृत्व चयन गराउन सहयोग गरेका सापकोटा, दाहाल, कठायत र नेपाललाई जिल्ला सदस्यमा मनोनित गरिएको पाठकले जानकारी दिए । युवा संघको विधान अनुसार अध्यक्षले पदाधिकारी संग छलफल गरी २१ जनालाई जिल्ला सदस्यमा मनोनयन गर्न पाउने छन् । बाँकी सदस्य पहिलो बैठकबाट टुङ्गो लगाइने सभापति पाठकले जानकारी दिए ।

