दामनमा मोवाइल एशोसियनको तालिम
हेटौँडा, २२ जेष्ठ/मोवाइल एशोसियसन अफ नेपाल मकवानपुरको आयोजनामा जिल्लाको उत्तरी क्षेत्र दामनमा एकदिने व्यवसायिक सीप तालिम भएको छ ।
शनिबार भएको तालिमको उद्घाटन गर्दै मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कृष्ण कटु्वालले तालिममा सिकेका सीपलाई व्यवहारमा प्रयोग गर्न सहभागीलाई अनुरोध गरे ।
तालिमलाई व्यवहारमा उतार्न सकेमात्र यसको उद्देश्य पूरा हुने उनको भनाई छ । एशोसियसनका संस्थापक अध्यक्ष छतेन्द्र आचार्यले मोवाइल व्यवसायीहरुको व्यवसायिक सीप वृद्धि गर्न संस्थाले आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने बताए ।
एशोसियसन जिल्ला अध्यक्ष अकुर गौतमको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुरुषोत्तम ढकाल, एशोसियसनका उत्तरी क्षेत्र अध्यक्ष विजय मल्ललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
तालिममा प्रद्युम्न उपाध्यक्षले सहजीकरण गरेका थिए । मकवानपुरको उत्तरी क्षेत्रका मोवाइल व्यवसायीहरुको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तालिममा थाहा नगरपालिका सहित वरपरका गाविसका मोवाइल व्यवसायीको सहभागिता रहेको थियो ।
