जिल्लास्तरीय भलिबलको उपाधी पनि माउण्टेनलाई
हेटौँडा, २२ जेष्ठ/पछिल्लो समय हेटौँडामा सञ्चालन भएको प्राय:भलिवल प्रतियोगिताको उपाधी कब्जा जमाउँदै आएको माउण्टेन भ्यू थकाली भान्सा घरले भीमफेदीमा भएको जिल्लास्तरीय भलिबल प्रतियोगिता–२०७३ मा पनि उपाधी आफ्नो पक्षमा पारेको छ ।
भीमफेदीमा रहेको महेन्द्र उच्च माविको खेल मैदानमा शनिबार भएको फाइनलमा चिउरी बगैंचा ‘ए’ लाई सोझो सेटमा निरास पार्दै माउण्टेनले उपाधि कब्जाको श्रृङ्खलालाई कायम राखेको हो । माउण्टेननले चिउरी बगैंचालाई २५–२३, २५–२२ र २५–१९ अंकको सोझो सेटमा पराजित गरेको हो । खेल पूर्णरुपमा माउण्टेनले आफ्नो पक्षमा राखेको थियो । उपाधीसँगै माउण्टेनले नगद ५१ हजार रुपियाँ प्राप्त गरेको छ ।
उपविजेता चिउरी बगैंचाले नगद २५ हजार रुपियाँमा नै चित्त बुझाउन बाध्य भएको छ । माउण्टेन भ्यूका रविन बिष्ट सर्बोत्कृष्ट खेलाडी घोषित भए । उनले नगद पाँचहजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । विजयी खेलाडीहरुलाई सांसद् सुभासचन्द्रसिं ठकुरीले नगद, प्रमाणपत्र र मेडल प्रदान गरेका हुन् । माउण्टेन भ्यूले केही समय अघि भएको केशवलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय भलिवल प्रतियोगिता र बसामाडी जेसीजले आयोजना गरेको लक्ष्मीमाया बज्राचार्य स्मृति भलिवल प्रतियोगिताको उपाधी समेत आफ्नो पोल्टामा पारेको थियो ।
‘भलिवल खेलमा पछिल्लो समय लगातार जित हाँसिल गरिरहेका छौँ । यस बर्ष आजको जितसंगै हामीले ह्याट्रिक गरेका छौँ’, माउण्टेन भ्यूका टिम म्यानेजर शंकर कार्कीले भने, ‘यो जितको श्रृङ्खलालाई कायम राख्दै अघि बढ्नुपर्ने चुनौती हामीमा रहेको छ । चुनौती सामना गर्न तयार समेत रहेका छौँ ।’ प्रतियोगिताको समापन समारोहमा सांसद् ठकुरीले सरकारले ल्याएको अहिलेको बजेट लोकप्रिय भएको भन्दै खेलकुदसँगै सम्पूर्ण क्षेत्रको विकासमा कोसेढुंगो सावित हुने दाबी गरे ।
उनले यो बजेट संविधान कार्यान्वयन र पुनर्निर्माणको निम्ति समेत महत्वपूर्ण रहेको बताए । खेल क्षेत्रको विकासको निम्ति सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै उनले हेटौँडा–काठमाण्डौँ सुरुङमार्ग निर्माण कार्य छिट्टै सुरु हुने दावी समेत गरे । कार्यक्रममा पूर्वसभासद् तथा नेकपा माओवादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामी तथा मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सिनाले यस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै प्रतियोगितालाई निरन्तरता दिनको लागि अनुरोध गरे ।
गणतन्त्र दिवसको सन्दर्भ पारेर आयोजना गरिएको प्रतियोगिताको समापन समारोह आयोजक भीमफेदी गाविस खेलकुद विकास समिति अध्यक्ष जाहरसिं लामाको अध्यक्षतामा भएको हो । विहीबारबाट सुरु भएको प्रतियोगितामा जिल्लाका दश टोलीको सहभागिता रहेको थियो । प्रतियोगिता लिगकम नकाउटको आधारमा सञ्चालन गरिएको थियो ।
राष्ट्रिय कलाकारको उपस्थितीमा सांगीतिक माहोलको बीच भएको समापन कार्यक्रममा नेपालका चर्चित गायकहरु प्रजापति पराजुली, रमेशराज भट्टराई, मिरा पोखरेल, अनिता सुवेदी तथा कविराज हुमागाईंले चर्चित गीत प्रश्तुत गरेका थिए । उनीहरुको गीतमा खेलाडी, अतिथि तथा स्थानीयले नाच्दै साथ दिएका थिए ।

