हेटौँडा र ललितपुर उपमहानगरबीच भगिनी सम्बन्ध स्थापना
हेटौँडा, २२ जेष्ठ/दुई उपमहानगरपालिका बीच संस्थागत सम्बन्ध स्थापना गर्ने उद्देश्यका साथ हेटौँडा उपमहानगरपालिका र ललितपुर उपमहानगपालिकाको बीच भगिनी सम्बन्ध स्थापना गरिएको छ ।
ललितपुर उपमहानगरपालिकाको टोली हेटौैँडा घुम्न आएको सन्दर्भमा अनुकरणीय अभ्यास अनुभव आदानप्रदान कार्यक्रमको आयोजना गर्दै शनिबार बिहान हेटौँडामा औपचारिक रुपमा भगिनी सम्बन्ध स्थापना भएको घोषणा गरिएको हो । बालश्रममुक्त अभियान, सार्वजनिक जग्गाको लगत र संरक्षण, फोहोर व्यवस्थापन, पुर्ननिर्माण, प्राकृतिक सम्पदाको संरक्षणलगायतका बिषयमा सहकार्य गर्ने उद्देश्यका साथ भगिनी सम्बन्ध स्थापना गरिएको हो ।
सम्झौतापत्रमा हेटौँडा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत सुदेवकुमार पोखरेल र ललितपुर उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत भरतमणि पाण्डले हस्ताक्षर गर्दै सम्झौतापत्र साटासाट
गरेका हुन् । मध्यमाञ्चल क्षत्रीय प्रशासक मुकुन्दराज प्रकाश घिमिरेले अनुभव र सीप साटासाट गर्दै काम गर्नका लागि अनुरोध गर्दै सम्झौता भाको छ र ? भन्ने अवस्था आउन नदिने गरी काम गर्न अनुरोध गरे । ‘भगिनी सम्बन्ध स्थापनाकै लागि मात्र स्थापना गरेर हुँदैन । दुवै तर्फबाट सहयोगी भूमिका हुनु आवश्यक छ, यस तर्फ ध्यान दिनूस्’, उनले भने । यो कार्यबाट दुवै नगरपालिकाको योजना तथा कार्यक्रमलाई सघाउ पुग्ने क्षत्रीय प्रशासक घिमिरेको विश्वास रहेको छ ।
यता मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विश्वकर्माले भगिनी सम्बन्धको फाइदा नागरिकसम्म पुग्नु आवश्यक रहेको बताए । प्रशासनिक मात्र नभएर आयोजना एवम् व्यवस्थापकीय कार्यहरुमा पनि सहयोग सहकार्य हुनु आवश्यक रहेको उनको भनाई छ । कार्यक्रममा ललितपुर उपमहानगरपालिका कार्यालयका बरिष्ठ प्रशासकीय अधिकृत बाबुराजा महर्जनले समझदारीपत्र वाचन गरेर सुनाएका थिए भने हेटौँडा उपहानगरपालिकाले गरेको नमूना लायक कामको बिषयमा नगरपालिकाका बीके महर्जन र भीम तिमल्सिनाले जानकारी गराएका थिए ।
यस्तै ललिपुरको तर्फबाट बरिष्ठ इन्जिनियर एवम् प्रवक्ता रुद्र गौतमले जानकारी गराएका थिए । कार्यक्रममा ललितपुरका काँग्रेस नगर सभापति राजेश महर्जन, हेटौँडा उपमहानगरपालिकामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको तर्फबाट नेकपा एमालेका गोपालबहादुर श्रेष्ठलगायते भगिनी सम्बन्ध स्थापनासंगै जनताले केही नयाँ अनुभुत गर्ने अवस्थाको सृजना हुनुपर्ने बताए ।
