Header Ads


सकारात्मक विवेकको खाँचो

संसारका सबै प्राणिहरुको तुलनामा मानिस अत्यन्त विवेकशिल प्राणी हो । अधिक विवेककै कारण मानिसका आवश्यकता, चाहना र आकांक्षाहरु पनि अनगिन्ति छन् । ति आवश्यकता चाहना र आकांक्षाहरुको परिपूर्तिका लागि मानिस हरपल प्रयत्नशिल छ । फरक केवल के हो भने कसैको प्रयत्न सकारात्मक हुन्छ । कसैको नकारात्मक । राजनीतिक, सामाजिक, ब्यापारिक लगायतका हरेक क्षेत्रमा सकारात्मक प्रयत्न गर्नेहरु सहि विवेकको प्रयोग गर्दछन । आत्मकेन्द्रित र स्वार्थीहरुको भने सधै
नकारात्मक विवेकको नै प्रयोग भएको हुन्छ ।
हरेक बर्ष जेठ महिनाको मध्यदेखि मौसमी फलका रुपमा आँपको सिजन सुरु हुन्छ । तर, पछिल्लो समय आँपलाई प्राकृतिक रुपमा बोटमा नै पाक्नु अगाबै टिपेर विषाधी प्रयोग गरी बिक्रीका लागि बजारमा ल्याउन तिनै नकारात्मक विवेक प्रयोगकर्ताहरुको होड नै चलेको देखिन्छ । हाल गरिएको फलपूmल बजारको अनुगमनबाट हेटौंडा बजारमा बिक्रीवितरणको निम्ति तयार पारेर राखिएको अधिकांश आँपमा कार्बाइड बिषादी प्रयोग भएको पाइएको छ । फलफूल पसलको अनुगमनको क्रममा खाद्य ऐनले बन्देज गरेको कार्बाइड प्रयोग गरेर आँप पकाउने गरेको पाइनु जो कसैका लागि दुखद कुरा हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरको अगुवाईमा भएको संयुक्त बजार अनुगमनको क्रममा भेटिएका ३९ क्रेट आँप मकवानपुर उद्योग वाणिज्य संघ र व्यवसायीको निगरानीमा नियन्त्रणमा लिएर नष्ट गर्न पठाइएको छ । यसरी तरकारी–फलपूmलमा विषधी प्रयोग गर्ने, खाद्य बस्तुमा अखाद्य बस्तुको प्रयोग गर्ने चलन नेपाली समाजमा सामान्य बनिसकेको छ । ब्यवसायीमा सेवाभाव भन्दा पैसा मोह बढी भएका कारण यस्तो अवस्था सृजना हुँदै देखिन्छ । देशको राजनीतिक तरलता, कडा कानुनी उपचारको अभाव, दलीय राजनीति हावीलगायतका कारण उनीहरुलाई यस्ता गलतकाम गर्न थप उर्जा मिल्दै आएको छ ।
आजका हरेक मानिस उच्च रक्तचाप, मधुमेह, थाईराइडलगायतका कुनै न कुनै रोगबाट संक्रमित छन् । यी सबै खानेकुराबाटै सिर्जित शारिरीक समस्याहरु हुन भन्नुमा विमति नरहला । दिनानुदिन यतिधेरै समस्या देखिदै जाँदा समेत राज्यको ध्यान त्यसतर्फ जान नसक्नुलाई एक सामान्य नागरिकले कसरी लिने ? साना ठूला सबै तप्काका ब्यक्ति यो समस्याबाट ग्रसित छन् । तर विग्रदो जनस्वास्थ्यको अवस्था सुधार्ने तर्फ कहि कतै कुनै संकेत नभेटिनुलाई नेपालीको दुर्भाग्य मान्न सकिन्छ । केवल देखावटी अनुगमन गरी झारा टार्ने काम मात्रले यो समस्याको हल कदापी हुन सक्दैन् । सकारात्मक विवेक प्रयोगको खाँचो पुरा गर्न नियमित अनुगमनकासाथै गलत काम गर्नेलाई ठूलै सजायको भागिदार बनाउन सक्नु पर्छ । तबमात्र नकारात्मक विवेक प्रयोग गर्नेहरुलाई निरुत्साहित गर्दै स्वस्थ्य, सक्षम र समृद्ध पिढी तयार गर्न सकिने कुरामा ढुक्क हुन सकिन्छ ।
Powered by Blogger.