तरुण दलले ग¥यो शिवाकोटीको खेतमा रोपाईं
हेटौँडा, १५ असार/नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दल मकवानपुरले काँग्रेस महाधिवेशन प्रतिनिधी टेकनाथ शिवाकोटीको खेतमा रोपाईं गरेर धान दिवस मनाएको छ ।
बुधबार दिउँसो हेटौँडा–२८ लेवटमा रहेको शिवाकोटीको खेतमा पुगेर तरुण एवम् काँग्रेसका नेताहरुले संयुक्त रुपमा रोपाईं गरेका हुन् । ‘असार १५ अर्थात धान दिवसलाई आम नेपालीहरुले हर्षोल्लासहका साथ मनाउने गरेका छन्’, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठकले भने, ‘यो पर्वलाई जोगाइराख्नको साथै तरुण नेता र पार्टीका नेताहरुको बीचमा अझै सुमधुर सम्बन्ध स्थापनाको लागि पार्टीका महाधिवेशन प्रतिनिधीको खेतमा यो कार्यक्रमको आयोजना गरेका हौँ ।’ उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताए । खेतमा पुगेका काँग्रेस केन्द्रीय सदस्य एवम् सांसद् महालक्ष्मी उपाध्याय डिना, काँग्रेस निवर्तमान सभापति रघुरमण न्यौपाने, पूर्व सभापति माइकल रामचन्द्र अर्यालसहितका काँग्रेस जिल्ला नेताहरु र तरुण दल जिल्ला सचिव सचित थापा, हेटौँडा उपमहानगर उपसभापति हेमन्त थापालगायतका तरुण नेताहरुले हिलो छ्यापाछ्याप गर्दै रमाइलो समेत गरेका थिए ।
रोपाईं पश्चात सामुहिक रुपमा दहीच्यूरा समेत खुवाइएको थियो । ‘परम्परागत रुपमा मनाइँदै आएको असार १५ (धान दिवस) लाई जगेर्ना गर्ने उद्देश्यका साथ यस बर्ष यहाँ रोपाईँ कार्यक्रमको आयोजना गरेका हौँ’, काँग्रेस महाधिवेशन प्रतिनिधी टेकनाथ शिवाकोटीले भने, ‘पार्टी र तरुणका नेताहरुको उपस्थितीमा भएको रोपाईं कार्यक्रम निकै उपलब्धिमूलक र रमाईलो रह्यो ।’

