कार्बाइड प्रयोग भएको ३९ क्रेट आँप नष्ट
हेटौँडा, १४ असार/हेटौंडा बजारमा बिक्रीवितरणको निम्ति तयार पारेर राखिएको आँपमा कार्बाइड बिषादी प्रयोग भएको पाइएको छ ।
मंगलबार हेटौँडामा भएको फलफूल पसलको अनुगमनको क्रममा खाद्य ऐनले बन्देज गरेको कार्बाइड प्रयोग गरेर आँप पकाउने गरेको पाइएको हो । अनुगमन टोलीले ३९ क्रेट आँप मंगलबार नियन्त्रणमा लिएर नष्ट गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको अगुवाईमा भएको संयुक्त बजार अनुगमनको क्रममा भेटिएको आँप मकवानपुर उद्योग वाणिज्य संघ र व्यवसायीको निगरानीमा नियन्त्रणमा लिएर नष्ट गर्न पठाइएको हो ।
अनुगमन टोलीले हेटौंडा–१० मा रहेको गोविन्द शाहको भण्डारबाट कार्बाइड प्रयोग गरेको १२ क्रेट, अशोक शर्माको बाट दुई क्रेट, श्रीकृष्ण शाहबाट चार क्रेट र हेटौंडा–४ का मनोज शाहबाट २१ क्रेट आँप नियन्त्रणमा लिएको हो ।
आँप बिक्रीको मुख्य मौसम पारेर अनुगमन गरेको बताउँदै क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक दिनेश ढुंगानाले गतवर्ष पनि ठूला व्यापारीहरुको भण्डारमा अनुगमन गरेर अखाद्य वस्तु प्रयोग गरिएको आँप नष्ट गरेको जानकारी दिए । गत बर्ष अनुगमन गरिएको पसल तथा भण्डारमा भने कार्बाइड प्रयोग नगरेका पाइएको उनको भनाई छ ।
उनका अनुसार फलफूल बजारको अनुगमनको क्रममा भने कार्बाइड प्रयोग नभएको भेटिएको छ । आँप भण्डारमा राख्ने व्यवसायीले नै कार्बाइड प्रयोग गरेर पकाउने र त्यहि आँप ठेला तथा पसलमा बेच्न पठाउने गरेकोअनुगमन टोलीको भनाई छ । टोलीले सात वटा पसलको अनुगमन गरेको थियो । अनुगमनमा मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष राजकुमार न्यौपाने, उपभोक्ता हित संरक्षण मञ्च मकवानपुर अध्यक्ष अजय अधिकारी, घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका नायब सुब्बा प्रणयप्रसाद अर्याल, जिल्ला प्रशासन कार्यालय मकवानपुरका नायब सुब्बा केशबप्रसाद ढोडरी, राष्ट्रिय उपभोक्ता मञ्च मकवानपुर सचिव महेश अग्रवाल तथा सञ्चारकर्मीको उपस्थिती थियो ।
