चुरियामाई बालश्रम मुक्त घोषणा
हेटौँडा, ३० जेष्ठ/हेटौडा उपमहानगरपालिकाको १६, १७ र १८ नम्बर वडालाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ ।
बालश्रम बिरुद्धको विश्व दिवश २०१६ को अवसरमा जुन १२ का दिन आईतबार एक कार्यक्रमका बीच चुरियामाईलाई बालश्रम मुक्त वडा घोषणा गरिएको हो । सांसद अनन्त पौडेलको प्रमुख आतिथ्यता तथा हेटौडा उपमहानगरपालिका कार्यालयका निमित्त कार्यकारी अधिकृत शंकरप्रसाद उपाध्यायको अध्यक्षतामा कार्यक्रम भएको हो ।
सांसद् पौडेलले घोषणासंगै यसलाई सार्थकता दिनको निम्ति चुनौती रहेकोले यसतर्फ सबै राजनीतिक दल एवम् स्थानीय एकजुट हुनु आवश्यक रहेको औँल्याए । उनले आफ्ना बालबालिकालाई श्रममा नपठाउन र अर्काको बालबालिकालाई पनि यस क्षेत्रमा श्रममा लगाउन नदिन अनुरोध गरे ।
सभामा नेकपा माओवादी केन्द्रका प्रकाश पाण्डे, जिल्ला विकाश समिति मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापा, हेटौडा उपमहानगरपालिकाका सामाजिक विकाश महाशाखा प्रमुख भीम तिमल्सिना, बाल कल्याण समाजका प्रकाश खतिवडा, प्लान इन्टरनेशनलका कार्यक्रम इकाइ प्रबन्धक नेत्रप्रसाद उपाध्याय, प्लानकै लै·िक एवम् बाल अधिकार संयोजक राम खत्री, श्रम कार्यालयका प्रमुख श्याम श्रेष्ठ, हेटौडा उपमहानगरपालिका चुरियामाई संयुक्त वडा कार्यालयका प्रमुख जगन्नाथ सापकोटा, स्थानीय राजनीतितक दलको तर्फबाट संघीय समाजवादी फोरमका नवराज मुक्तानलगायतले बालश्रम मुक्त वडा घोषणा प्रति ऐक्यवद्धता जनाउँदै कार्यगत एकता तथा अनुगमन प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।
सन् २०१६ को अन्तिमसम्ममा हेटौँडा उपमहानगरपालिकालाई बालश्रम मुक्त नगर बनाउने उद्देश्य अनुरुप यसअघि ११, ९, ६, ७, ८, संयुक्त वडा कार्यालय हटिया र हर्नामाडीलाई बालश्रम मुक्त वडा घोषणा गरिसकेको छ । हेटौँडा उपमहानगरपालिकाले प्लान इन्टरनेशनल, बाल कल्याण समाज र सिबिन नेपालको सहकार्यमा बालश्रम मुक्त वडा घोषणा गर्दै आएको छ ।

