‘सहकारी ऐन परिमार्जन गर्नुपर्ने’
सुजन ढकाल
हेटौँडा, १३ असार/नेपालमा सहकारीहरु अधिकांश भएकोले सहकारी ऐनमा भएका ४२ वटा बुँदालाई सरकारले परिमार्जन गर्नुपर्ने माग गरिएको छ ।
केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले सहकारी ऐनमा भएका ४२ वटा बुदाँमा असहमति रहेकोले सरकारसमक्ष विभिन्न समयमा डेलिगेसन जादाँ पनि यसको सुनुवाई नभएको बताउँदै अहिलेको ऐन परिमार्जन नभएमा सहकारीका सञ्चालक समिति सबै जना जेल जानुपर्ने अवस्था रहेको तर्क गरे । विहीबार भएको दुग्ध पदार्थको गुणस्तर तथा आगामी कार्यक्रम विशेष एकदिवशीय अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि रहेका देवकोटाले नेपालमा दूधको गुणस्तर खस्केको बताए ।
‘गुणस्तरमा हामी बार्गेनिङ गर्दैनौँ । गुणस्तरीय दुग्ध उत्पादन गर्ने काम किसानको हो’, उनले भने, ‘मासु, अण्डा तथा दुग्ध पदार्थमा किसानहरु आत्मनिर्भर बन्नुपर्ने आजको आवश्यकता हो ।’ संघसँग आवद्ध रहेको मकवानपुरको एकमात्र संस्था मनकामना दुग्ध उत्पादक सहकारीले गुणस्तर कायम राख्नको लागि जिएनपी लागू गर्न लागेको उनको भनाई रहेको थियो । संघका अध्यक्ष बासुदेव अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संघका व्यवस्थापक कुमारमणि दाहालले आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा वर्षाको कारण मिल्क होलिडे मनाउनुपर्ने अवस्था आउनसक्ने बताए ।
संघले नौ महिनामा गरेको आर्थिक क्रियाकलाप, वार्षिक कार्यक्रमको समिक्षा दाहालले प्रस्तुत गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष अधिकारीले यही असार १८ गते अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा हाते सांगलो निर्माण गरी मनाउने जानकारी दिए । उनले लोथर देखि ज्यामिरेसम्म, चुरियामाईदेखि मनहरीसम्म, बसामाडीदेखि नवलपुरसम्म, राप्तीपुलदेखि कर्रासम्म, थाहानगरमा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाले समन्वय गरी सांङ्लोको रुपमा निर्माण गरी दिवस मनाउने बताए । कार्यक्रममा संघका उपाध्यक्ष धर्मराज लामिछाने, सदस्य ईन्द्रबहादुर बस्नेत, पत्रकारद्वय सविन न्यौपाने र सुजन ढकालको आतिथ्यता रहेको थियो ।

