Header Ads


सानोपोखराबासीले रोपे सडकमै धान

हेटौँडा/बुधबार सबैजना असार १५ मनाउन व्यस्त भैरहँदा हेटौँडा–५ सानो पोखराका बासिन्दाले भने नयाँ ढंगले असार १५ लाई मनाएका छन् । 
धेरै मानिसहरु खेतमा धान रोप्न र दहीच्यूरा खान व्यस्त भैरहँदा सानोपोखरा बासिन्दा भने कान्तिलोकपथमा सवारी सञ्चालनमा रोक लगाउँदै सडक मै धान रोप्न व्यस्त रहेका थिए । सडकको अवस्था दयनीय हुँदा पनि स्तरीकरणमा राज्यले वेवास्ता गरेको भन्दै सानोपोखरा बासीले सडक मै धान रोपेका हुन् । ‘सडकको अवस्था दयनीय भएको यत्तिका समय भैसक्यो । नगरपालिका, ठेकेदार र सरकारको बिरोध गर्दै हामीले स्वतस्फूर्त रुपमा सडकमा रोपाईं कार्यक्रमको आयोजना गरेका हौँ’, स्थानीय किरण पराजुलीले भने, ‘हामीले सिडिओको गाडीलाई समेत यो बाटोबाट फर्काइदियौँ ।’ 
कान्तिलोकपस्थित हेटौंडा–पिप्ले सडकखण्ड स्तरीकरणका लागि धेरै पटक नगरपालिकालाई आग्रह गर्दा पनि यसको सुनुवाई नभएको उनको भनाई छ । ‘हामीले धेरै पटक नगरपालिका, जिल्ला विकास समिति र राजनीतिक दलहरुलाई आग्रह गरेका छौँ’, अब यो सडक हामी हिँड्नको लागि भन्दा पनि धान रोप्न कै लागि ठिक लागेर यसो गरेका हौँ । गाउँले मिलेर सडकमा भत्किएर पानी जमेको र हिलाम्मे भएको स्थानमा विरोधस्वरुप रोपाईं गरेका सानोपोखराका चक्रबहादुर दर्लामीको भनाई थियो । उनले स्थानीयबासी, क्लब, टोल विकास संस्था तथा स्थानीय राजनीतिक दललगायतको सहभागितामा सांकेतिक विरोध स्वरुप सडकमा धान रोपिएको बताए ।
‘दिनकै एक्सिडेन्ट हुने गरेको छ । गतवर्ष सवारी दुर्घटनामा एकजनाको ज्यान समेत गयो । यति हुँदा पनि सरोकारवाला निकायले ध्यान नदिएपछि के गर्नु त ?’ उनले प्रश्न गरे । ‘सडकको पिच नै हुनुपर्छ भन्न खोजेका हैनौँ । पहिलो चरणमा ग्राभेलि· मात्र गरिदिएपनि हुन्छ,’ सरस्वती बोहोराले भनिन्, ‘यो सांकेतिक आन्दोलनले पनि बाटो मर्मत कार्य नभए कडा आन्दोलन गर्ने उनको भनाई थियो । ‘कान्तिलोकपथ सुरु भएदेखि नै खाल्डो नै खाल्डो छ । वर्षेनी बजेट आएको कुरा सुनेपनि काम भने गरेको थाहा छैन’, अर्का स्थानीय संजिव पराजुलीले भने, ‘पानी नपर्दा धुलाम्य हुन्छ । पानी परे हिलैहिलो । जे भएपनि समस्या भोग्ने चैँ हामी ।’ उक्त सडक खण्डमा दैनिक जसो सवारी दुर्घटना हुने गरेको पराजुलीको भनाई छ । 
Powered by Blogger.