वक्तृत्वकलामा श्रेष्ठ अब्बल
हेटौँडा, १६ असार/हेटौंडा लेडी जेसीजको यस बर्षको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत् विहीबार ‘आर्थिक उन्नतिका लागि युवा सशक्तीकरण’ बिषयक बुद्धरत्न शाक्य स्मृति अन्तर जेसीज वक्तृत्वकला कार्यक्रम भएको छ ।
प्रतियोगितामा हेटौँडा लेडी जेसीजकी अस्मिता श्रेष्ठ प्रथम भएकी छिन् । अन्य १२ जना प्रतिस्पर्धीलाई उछिन्दै श्रेष्ठ उत्कृष्ट भएकी हुन् । हेटौँडा जेसीजका विश्वप्रसाद गौतम द्वितीय, लेडी जेसीजकै उर्मिला अधिकारी तृतीय र हेटौँडा जेसीजका केशव दाहालले सान्त्वना स्थान हासिल गरे । बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका पूर्वअध्यक्ष जेसीआई सिनेटर राजेशमोहन प्रधानले पुरस्कार, प्रमाणपत्र र मेडल वितरण गरेका हुन् ।
जेसीज शाखा अध्यक्ष शोभा खरेलको सभाध्यक्षतामा भएको प्रतियोगिताको निर्णायकमा हेटौंडा जेसीजका निवर्तमान अध्यक्ष दीपकराज मिश्र, बस्तीपुर जेसीजका पूर्वअध्यक्ष बसन्तकुमार सिटौला र लेडी जेसीज पूर्वअध्यक्ष ग्रेस श्रेष्ठ रहेका थिए । जेसीजकी महासचिव सिर्जना मानन्धरले सञ्चालन गरेको कार्यक्रममा मूलकार्यक्रम संयोजक सोफिया फागोले सप्ताहव्यापी कार्यक्रमबारे जानकारी गराउँदै स्वागत गरेकी थिइन् । कार्यक्रम आकृति बरालको संयोजनमा भएको हो ।
कार्यक्रममा बस्तीपुर जेसीजका अध्यक्ष सल्लाहकार पुष्कल न्यौपाने, रिपोर्टर्स क्लब मकवानपुरका अध्यक्ष सविन न्यौपाने, हेटौंडा जेसीजका पूर्वअध्यक्ष कविन सांगामी, लेडी जेसीज पूर्वअध्यक्ष सुमित्रा मानन्धरलगायतको आतिथ्यता रहेको थियो ।
यस्तै सप्ताहव्यापी कार्यक्रम अन्तर्गत् विहीबार नै २०७२ सालको भूकम्पमा परी ज्यान गुमाएकी जेसीजकी तत्कालीन उपाध्यक्ष सजनी कोजुको नाममा स्थापित छात्रवृत्ति उज्ज्वल शिशु निकेतनमा कक्षा ७ मा अध्ययनरत् जेहेन्दार छात्रा आरती बोगटीलाई प्रदान गरिएको छ । जेसीज पूर्वअध्यक्ष ग्रेस श्रेष्ठको प्रमुख आतिथ्यता तथा शाखा अध्यक्ष शोभा खरेलको सभाध्यक्षतामा नारी संरक्षण केन्द्र हेटौंडा–४ मा भएको कार्यक्रमबीच नगद पाँच हजार रुपियाँ छात्रवृत्तिस्वरुप वितरण गरिएको मूलकार्यक्रम संयोजक फागोले जानकारी दिइन् । छात्रवृत्ति वापतको रकम लेडी जेसीज पूर्व अध्यक्ष ग्रेस श्रेष्ठले उपलब्ध गराएकी हुन् । कार्यक्रममा जेसीज पूर्व अध्यक्ष श्रेष्ठ, अञ्जना रिजाल, निवर्तमान अध्यक्ष राधिका श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो । छात्रवृत्ति हस्तान्तरणको कार्यक्रम संयोजक सृजना मानन्धर रहेकी थिइन् ।
