संविधानमा महिलाका सवाल बिषयक रेडियो मकवानपुरको अन्तरक्रिया
हेटौँडा, २० असार/रेडियो मकवानपुरले हेटौँडा–१२ पदमपोखरीमा नेपालको संविधान–२०७२ र महिलाका सवाल बिषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
संविधान जारी भएको एक बर्ष वित्न लागिसक्दा पनि गाउँ गाउँका महिलालाई संविधानमा महिलाको बिषयमा समेटिएको बिषयमा सामान्य जानकारी समेत नभएको अवस्थामा रेडियोले पदमपोखरीको महिला मिलन वचत तथा ऋण सहकारी संस्थासंगको समन्वयमा अन्तरक्रिया गरेको हो ।
अन्तरक्रियामा सहभागी पदमपोखरीका महिलाहरुले नेपालमा महिला र पुरुष समान भनिएतापनि व्यवहारमा लागू नभएको, महिला हिँसा गर्नेलाई अझै कडा दण्ड सजायँको व्यवस्था गर्नुपर्ने, दोषीलाई
राजनीतिक एवम् आर्थिक प्रभावका आधारमा छोडिदिने गरेको लगायतका समस्या उठाएका थिए ।
कार्यक्रममा नेपालको संविधान–२०७२ मा महिलाको सवालमा समेटिएको कानुनी बिषयमा पुनरावेदन अदालत हेटौँडाका वैतनिक कानुन व्यवसायी अधिवक्ता कृष्णप्रसाद अर्यालले जानकारी गराएका थिए । ‘एउटा सामुदायिक रेडियोको नाताले यहाँका महिलाहरुलाई संविधानमा समेटिएका महिलाका हकअधिकारको बिषयमा जानकारी गराउने उद्देश्यले अन्तरक्रियाको आयोजना गरेका हौँ’, रेडियोका स्टेशन संयोजक राममणि दाहालले भने, ‘आगामी दिनमा पनि हामी यस्तै सामाजिक गतिविधीलाई निरन्तरता दिँदै जानेछौँ ।’
महिला मिलन सहकारीका कोषाध्यक्ष हेमन्ती थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीको तर्फबाट सोनी लामा, लक्ष्मी लामा, सानुमाया लामा र सृजना लामाले कार्यक्रम प्रभावकारी रहेको भन्दै सिकेका बिषय अरुलाई पनि सिकाउने बताए ।
सहकारीका कोषाध्यक्ष मगरले सहकारीमा आबद्व स्थानीय महिलाहरु सहकारीको बिषयमा सशक्त भएपनि कानुनी बिषय भने सिकाउन नसकेको स्वीकारिन् । आगामी दिनमा सम्भव भएसम्म सहकारीले पुरुषको समेत सहभागितामा यस्ता कार्यक्रम आयोजना गर्ने उनको भनाई रहेको थियो । कार्यक्रम रेडियो मकवानपुरका गणेशदर्पण अधिकारीले सञ्चालन गरेका हुन् ।
