घट्टेखोलाको खानेपानी योजना सम्पन्न
हेटौँडा, २० असार/हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर(२३ र २४ मा रहेको घट्टेखोला खानेपानी योजनाको कार्य सम्पन्न भएको छ ।
केन्द्रीय बजेट अन्तर्गत जिविस मकवानपुरबाट प्राप्त ४ लाख रूपैयाँबाट काम सम्पन्न भएको हो । योजना सम्पन्न भई संचालनमा आएपछि कालिदेवी प्राविका विद्यार्थीका साथै घट्टेखोलाका ६१ घरधुरी लाभान्वित भएको उपभोक्ता समिति अध्यक्ष लक्ष्मीमाया दोङले जानकारी दिइन् । यसअघि खोलाको प्रदुषित पानी खानुपर्ने बाध्यता रहेकोमा योजना संचालन भएपछि १४ वटा धारा मार्फत स्वच्छ पानी उपलब्ध भएको उनको भनाई छ । त्यसैगरी जिविसमार्फत उपलब्ध बजेटबाट सो क्षेत्रमा सडक मर्मतको काम समेत सम्पन्न भएको छ ।
जनजाति र दलित समुदायको बाहुल्यता रहेको यस क्षेत्रको सडक मर्मत सुधारका लागि जिविसबाट ३ लाख रूपैयाँ प्राप्त भएको समितिका अध्यक्ष कार्की लामा थोकरले जानकारी दिए । यी दुई कामले यस क्षेत्रका बासिन्दाको दैनिकीमा धेरै सहजता थपिएको जिविस मकवानपुरका प्राविधिक विष्णुप्रसाद ढुंगानाको दावी छ ।
