Header Ads


‘सडक राम्रो भए पर्यटक बढ्ने थिए’

चित्लाङ, २० असार/मकवानपुरको उत्तरी क्षेत्र पर्यटकीय क्षेत्रको रुपमा परिचित रहेको छ । उत्तरी क्षेत्र घुम्न जाने प्राय ः पर्यटकहरु चित्लाङ पुग्ने गर्दछन् । 
आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत एवम् सम्मान गर्नको लागि चित्लाङमा हाल ६ वटा होमस्टे दर्ता भएर सञ्चालनमा छ भने ३ वटा होमस्टे दर्ताको प्रक्रियामा रहेको छ । मोटर बाटो स्तरीकरण नहुँदा भने स्थानीय निरास रहेका छन् । सरकारले चित्लाङलाई पर्यटन गाउँ घोषणा गरेसँगै घुम्न आउने पर्यटकको संख्यामा बृद्धि भएपनि काठमाण्डौँ तथा हेटौँडा हुँदै चित्लाङसम्म पुग्ने सडकको अवस्था राम्रो नहुँदा पर्यटकलाई आवतजावतमा समस्या परेको चित्लाङ सामुहिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण बस्नेतले गुनासो गरे । 
थानकोट–चन्द्रागिरी–चित्लाङ र हेटौँडा–कुलेखानी–मार्खु–चित्लाङ सडक खण्डको बाटो राम्रो नहुँदा पर्यटकलाई समस्या परेको उनको भनाई छ । ‘चित्लाङ आउने पर्यटक धेरै छन् । आउन खोज्नेहरु पनि उत्तिकै छन्’, बस्नेतले भने, ‘बाटो गतिलो नहुँदा यहाँ एकपटक आउनेहरु दोहो¥याएर आउन टाउको कन्याउने गरेका छन् ।’ साना सवारी लिएर आउन चाहनेलाई असजिलो भएको उनको भनाई छ । सडकको ट्रयाक खुलेको धेरै भएपनि स्तरोन्नतिको काम भने नभएको बस्नेतको भनाई छ । स्थानीय निकाय र सरकारले सडक स्तरोन्नति र चित्लाङको बिषयमा प्रचारप्रसारमा ध्यान दिए चित्लाङमा पर्यटकको संख्या बढ्ने स्थानीय अशोकसिँह ठकुरीको भनाई छ । ‘शुक्रबार र शनिबार यहाँ आउनेको ठूलै भीड हुने गरेको छ’, उनले भने, ‘होमस्टेमा ठाउँ नपुगेर नजिकैको लजमा लगेर राख्नुपर्ने अवस्था समेत आउने गरेको छ ।’ काठमाडौंबाट थानकोट चन्द्रागिरी हुँदै हप्तामा करिब एक हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरु चित्लाङ आउने गरेको उनले सुनाए । ठकुरीले बाटो स्तरीकरण नहुँदा कच्ची बाटोमा सवारीहरु फस्ने गरेको बताए । ‘मुख्य बाटो भएरै अहिले ट्रेकिङ आउने गरेका छन् । टे«किङ र सवारीसाधन एकै ठाउँबाट सञ्चालन हुँदा पर्यटकहरु धुलो र हिलोको चपेटामा परिरहेका छन्’, उनले भने, ‘नयाँ टे«किङ रुटहरु धमाधम पहिचान भइरहेको छ । सबैको साथ र सहयोग भए चित्लाङले पक्कै मुहार फेर्नेछ ।’ चित्लाङ क्षेत्रमा घुम्न आउने पर्यटकको संख्या बढेसँगै होमस्टे सञ्चालकले मासिक ४० हजार रुपियाँसम्म आम्दानी गर्न थालेका छन् । चित्लाङमा प्राचीन सम्पदाको अध्ययन अवलोकन गर्न आउने पर्यटकको संख्या बृद्धि हुन थालेपछि होमस्टेको आम्दानी बढेको स्थानीयको भनाई छ । चित्लाङ पुग्नेहरुले ट्राउट माछा र बाख्राको चिजलाई फरक परिकारको रुपमा लिने गरेका छन् । सम्राट अशोकले बनाएको अशोक चैत्य र किराँत राजाहरुले बनाएका मन्दिर र सिलालेखका कारण इतिहासका विषयमा अध्ययन गर्न आउने पर्यटकको संख्यामा समेत बृद्धि भएको स्थानीयको भनाई छ । 
पर्यटकको स्वागतका लागि स्थानीय बासिन्दाले सन् २०११ देखि घरघरै एउटा कोठा छुट्याएर होमस्टे सञ्चालन गरेका छन् । चित्लाङको रमणीय ठाउँ घुमाइदिने र आफ्नै घरमा पाकेका घरेलु खानेकुरा खुवाएर चित्लाङबासीले पाहुनाको स्वागत गर्ने गरेका छन् । चित्लाङमा होमस्टे सञ्चालन गरेका स्थानीय बासिन्दाले पर्यटकहरुसंग प्रतिव्यक्ति प्रतिदिन एक हजार दुईसय रुपियाँ लिने गरेका छन् । 
Powered by Blogger.