८ सहकारी खारेज १८ वटा थपिए
हेटौँडा, ६ साउन/डिभिजन सहकारी कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७२÷०७३ मा निष्क्रिय अवस्थामा रहेका ८ वटा सहकारीलाई खारेज गरेको छ ।
दर्ता गर्ने तर लामो समयसम्म पनि सञ्चालन नगर्ने, सहकारीको वार्षिक
साधारणसभा सभा नगर्ने र सहकारीको कामलाई नियमितता नदिएका सहकारीलाई खारेज गरिएको डिभिजन सहकारी कार्यालयले जानकारी दिएको छ । खारेज भएका सहकारीमध्ये २ वटा जडिबुटी, ४ वटा दूग्ध उत्पादक तथा उपभोक्ता तथा बचत र बचत तथा ऋण सहकारी १÷१ वटा रहेको छ । डिभिजन सहकारी कार्यालय मकवानपुरका प्रमुख तिलकराम पोखरेलका अनुसार चालु आर्थिक वर्षमा
मकवानपुरमा विभिन्न सहकारीहरु गरी १८ वटा सहकारी संस्था थपिएको छ । जसमध्ये १४ वटा कृषि सहकारी, दुईवटा दूग्ध र स्वास्थ्य÷बचत गरी १÷१ वटा सहकारी रहेको छ । सहरमा भन्दा गाउँमा
सहकारीहरु संस्था थप हुँदै गइरहेको बताउँदै पोखरेलले भने, ‘चालु आर्थिक वर्षमा गढी, मनहरी, बसामाडी, हटियालगायतको क्षेत्रका बासिन्दाहरु सहकारीहरु प्रति मोह बढ्दै गएको छ ।’
मकवानपुर जिल्लामा आर्थिक वर्षमा २ वटा सहकारी संस्था मर्ज (एकीकरण) भएको छ । एउटै गाउँमा एक भन्दा धेरै सहकारीको कारण केही समस्याहरु भएको भन्दै चित्लाङ गाविसमा रहेका जडिबुटी र कृषि तथा हेटौँडा उपमहानगरपालिकामा रहेका उपभोक्ता र बहुउद्देश्यीय सहकारीलाई मर्ज (एकीकरण) गरिएको पोखरेलको भनाइ रहेको छ । डिभिजन सहकारीका अनुसार हाल ५ सय ५६ वटा विभिन्न प्रकृतिका सहकारीहरु क्रियाशिल रहेका छन् ।

