एक्सरे खरिद्मा मकवानपुर कोरिया मञ्चको सहयोग
हेटौँडा, ३ साउन/मकवानपुरको हाँडीखोलाका युवाहरुले सामाजिक सञ्जाल मार्फत सुरु गरेको आफ्नो गाउँ आफैँ बनाऔँ अभियानलाई मकवानपुर कोरिया मञ्चले साथ दिएको छ ।
अभियानको पहिलो चरणको कार्य अन्तर्गत हाँडीखोला स्वास्थ्यचौकीलाई भिडियो एक्सरे मेसिन खरिद्का लागि मकवानपुर कोरिया मञ्चले नगद ५१ हजार रुपैँया सहयोग गरेको हो । सोमबार हाँडीखोला गाविस कार्यालयमा एक कार्यक्रमका बीच मञ्चका अध्यक्ष शम्भु पुडासैनी, मञ्चकै दुर्गाप्रसाद दाहाल र यदु विकले हाँडीखोला गाविसका सहायक बिदुर पाठकलाई रकम हस्तान्तरण गरेका हुन् ।
रकम हस्तान्तरण गर्दै मञ्च अध्यक्ष पुडासैनीले कामको शिलशिलामा कोरियामा पुगेका मकवानपुरे युवाहरुले मकवानपुर कोरिया मञ्चको नाममा गर्दै आएको सामाजिक कार्यको बिषयमा जानकारी गराएका थिए । विभिन्न मुलुकमा रहेका हाँडीखोलाका युवाहरुले सञ्चालन गरेको भिडियो एक्सरे खरिद् अभियान चित्त बुझेकोले यस अभियानलाई सहयोग गरिएको जानकारी दिँदै उनले आगामी दिनमा पनि आवश्यक सहयोग गर्न सकिने बताए । कार्यक्रममा हाँडीखोला स्वास्थ्यचौकीका अहेव एवम् एक्सरे मेसिन खरिद् अभियानका अभियन्ता ज्योतिराज लुईंटेलले हालसम्म संकलन भएको रकमको बिषयमा जानकारी गराउँदै केहीदिन भित्रै मेसिन खरिद् गरी ल्याइने बताए ।
लुईंटेलका अनुसार हालसम्म ७ लाख २१ हजार २ सय ३६ रुपैँया बैँकमा जम्मा भैसकेको छ । कार्यक्रममा हाँडीखोला गाविसको स्वास्थ्य अवस्थाको बिषयमा जानकारी गराउँदै स्वास्थ्यचौकी व्यवस्थापन समितिका पूर्व अध्यक्ष गोपाल पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए कार्यक्रममा स्थानीय राजनीतिक दलका नेता एवम् वडा नागरिक मञ्चका पदाधिकारीको उपस्थिती थियो ।

