आमभञ्ज्याङ, सुकौराबासीलाई भीमफेदी गाउँपालिका अस्वीकार्य
हेटौँडा, १७ साउन/राज्य पुनर्संरचना अन्तर्गत स्थानीय तह पुनर्संरचनाको बिषयमा समर्थन, आलोचना र बिरोधहरु भैरहेका छन् ।
यस्तैमा मकवानपुरको आमञ्ज्याङ र सुकौरा गाविसलाई भीमफेदी गाउँपालिकामा गाभ्न नहुने स्थानीयले ज्ञापन पत्र बुझाइएका छन् । आमभञ्ज्याङ र सुकौराका राजनीतिक दलका प्रतिनिधी तथा स्थानीय सञ्चारकर्मीहरुले सोमबार स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिका सदस्य सचिव किसान न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै भीमफेदी गाउँपालिकामा गाभ्ने निर्णय अस्वीकार्य रहेको बताएका हुन् ।
गत १३ गते जिल्ला विकास समिति मकवानपुरमा भएको छलफलको क्रममा स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिको कार्य सर्त तथा कार्यविधिलाई टेकेर आमभञ्ज्याङ तथा सुकौरालाई समेत भीमफेदी गाउँपालिकामा गाभ्ने निर्णय गरेको भन्दै उनीहरुले दुई गाविसका सर्वदलीय प्रतिनिधीलाई अस्वीकार्य रहेको बताएका हुन् । भौगोलिक हिसाबले सुकौरा र आमभञ्ज्याङ हेटौँडा उपमहानगरपालिकासंग नजिक पर्ने भएकोले भीमफेदी गाउँपालिकामा समावेश गरिँदा हेटौँडा आएर फेरी भीमफेदी जानुपर्ने बाध्यता हुने भएकोले यो निर्णय बदर गर्न स्थानीयले माग गरे । आमभञ्ज्याङ गाविस कार्यालयबाट हेटौँडा आउनको निम्ति जम्मा ८ किलोमिटर मात्र भएको र भीमफेदी जानको निम्ति हेटौँडा आएर फेरी भीमफेदी जानुपर्ने भएकोले आमभञ्ज्याङलाई भीफेदी गाउँपालिका अस्वीकार्य भएको बताएका हुन् ।
स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिका सदस्य सचिव किसान न्यौपानेले समितिले प्रस्तावित गरेको पुनर्संरचनाको खाका नै अन्तिम नभएको बताउँदै स्थानीयसंगको छलफलपछि निर्णय गर्न सकिने जानकारी दिए । भीमफेदी भौगोलिक रुपमा टाढा पर्ने भन्दै सुकौरा र आमभञ्ज्याङ बासिन्दाले यसअघि पनि सुझाव दिइसकेको स्मरण गर्दै उनले स्थानीय तहमा छलफल गरेर अघि बढ्ने दोहो¥याए ।
संयुक्त ज्ञापनपत्रमा सुकौरा गाविसको तर्फबाट गाविसका सचिव दिनेश लम्साल, नेपाली काँग्रेस सुकौरा सभापति सुनराज स्याङतान्, नेकपा एमाले अध्यक्ष बीरबहादुर रुम्बा, नेकपा माओवादी केन्द्र अध्यक्ष बाबुलाल योञ्जन, राप्रपा नेपाल अध्यक्ष मुकुन्दप्रसाद न्यौपाने, वडा नागरिक मञ्च सुकौराका संयोजक अमृत लो, समाजसेवी यादवप्रसाद अधिकारीले ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् भने आमभञ्ज्याङका तर्फबाट १३ जना सञ्चारकर्मीले हस्ताक्षर गरेका छन् ।
