Header Ads


विशेष कारण भन्दै गाविस र गैससलाई छुट

हेटौँडा, १७ साउन/आर्थिक वर्ष २०७२÷०७३ मा गरिएको गतिविधिको बार्षिक समिक्षामा मकवानपुरका गाउँ विकास समिति र यहाँ कृयाशिल गैरसरकारी संस्थाहरुले सञ्चालन गरेको गतिविधीको बिषयमा प्रश्तुती गर्न नपर्ने भएको छ । जिल्ला विकास समिति मकवानपुरको आयोजनामा प्रत्येक आर्थिक वर्षको समापनसंगै हुने गरेको बार्षिक समिक्षा कार्यक्रममा जिल्लामा रहेको सम्पूर्ण सरकारी तथा गैरसरकारी संस्थाहरुले अनिवार्य रुपमा सहभागिता जनाएर संस्थाले गरेको गतिविधी र बजेटको बिषयमा जानकारी गराउनुपर्ने भएपनि यसवर्ष ‘विशेष कारण’ भन्दै गाविस र गैरसरकारी संस्थाहरुलाई छुट दिइएको हो । 
गाउँमा भूकम्पको कामका लागि गाविस र गैरसरकारी संस्थाहरु जुटिरहेकोले उनीहरुले बार्षिक समिक्षा गोष्ठीमा सहभागी हुन नपाउने भएपछि गाविसका लागि जिल्ला विकास समितिमार्फत् बार्षिक प्रतिवेदन उपलब्ध गराउने र गैरसरकारी संस्थाको हकमा जिल्ला परियोजना सल्लाहकार समितिमार्फत् प्रतिवेदन उपलब्ध गराइने जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले जानकारी दिए । 
यता प्रत्येक वर्ष आयोजना हुने समिक्षा गोष्ठीलाई वेवास्ता गर्दै आइरहेको जिल्लाका सरकारी तथा गैरसरकारी कार्यालयहरुलाई यस व्यवस्थाले प्रोत्साहन मिल्ने भन्दै केही राजनीतिक दलहरुले असन्तुष्टी समेत जनाएका छन् । भूकम्पपछिको पुनर्निर्माणको कारणले यस्तो व्यवस्था गरिएको भन्दै सामाजिक विकास अधिकृत थापाले काममा डुप्लिकेसन भएको छ वा छैन भन्ने विषयमा गहन अध्ययन हुने बताए । समिक्षामा पूर्वाधार विकास समितितर्फ खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, नेपाल टेलिकम, सिंचाई डिभिजन कार्यालय, सडक डिभिजन कार्यालय र भवन प्रविधि तालिम तथा अनुसन्धान कार्यालय मकवानपुरले आफ्नो बार्षिक गतिविधिबारे जानकारी गराएका थिए । वन तथा वातावरणतर्फ जिल्ला वन कार्यालय, जिल्ला वनस्पति कार्यालय, जिल्ला भू–संरक्षण कार्यालयले बार्षिक योजनाबारे समिक्षा गरेका थिए । 
आर्थिक विकास समितितर्फ जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, डिभिजन सहकारी कार्यालयले आफ्नो बार्षिक प्रतिवेदनबारे जानकारी गराएको थियो भने व्यावसायिक प्रशिक्षण तथा सीप विकास तालिम केन्द्र अनुपस्थित रह्यो । सामाजिक विकास समितितर्फ जिल्ला शिक्षा कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, महिला तथा बालबालिका कार्यालय र अञ्चल आयुर्वेद कार्यालयले आफ्नो बार्षिक प्रतिवेदन पेश गरेका थिए । हेटौंडा उपमहानगरपालिकाले पनि आफ्नो बार्षिक प्रतिवेदनको समिक्षा उक्त गोष्ठीमा गरेको थियो । 
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र हेटौंडा र जनउत्पन्न प्रकोप नियन्त्रण कार्यालय गतवर्ष झै यसवर्ष पनि समिक्षा बैठकमा उपस्थित भएनन् । प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विश्वकर्माको प्रमुख आतिथ्यता तथा निमित्त स्थानीय विकास अधिकारी निर्मल प्याकुरेलको अध्यक्षतामा भएको समिक्षामा नेपाली काँग्रेस जिल्ला सदस्य बिष्णु लामिछाने, नेकपा एमाले जिल्ला अध्यक्ष मुनु सिग्देल, माओवादी केन्द्र जिल्ला अध्यक्ष प्रेमबहादुर पुलामी ‘छिन्तुु’, राप्रपा नेपाल केन्द्रीय सदस्य नवराज बिष्ट, राप्रपाका क्षेत्रीय सभापति सीताराम बर्तौला, नेकपा एमाले जिल्ला सचिव भीमसेन महत र नेकपाका विनोद रिजाललगायतले मन्तव्य व्यक्त गरेका थिए । 
केही नेताहरुले गैरसरकारी संस्था तथा गाविसलाई समेत समिक्षामा सहभागी गराएर उनीहरुको सञ्चालन गरेको कामकारबाहीको बिषयमा जानकारी माग्नुपर्नेमा जोड दिएका थिए । 

Powered by Blogger.