तीज कार्यक्रममा पनि विवाद
हेटौंडा/मकवानपुर उद्योग वाणिज्य संघका पदाधिकारी र कार्यसमिति सदस्यको बीचमा नयाँ कार्य समिति चयन भएर आएदेखि नै विवादका घटना हुँदै आएको हो । पछिल्ला समय विवादले झनै उग्र रुप लिँदै गएको छ । केही कार्यसमिति सदस्यले सामाजिक सञ्जाल फेसबुकबाट आफ्ना असन्तुष्टि पोखिरहेका छन् भने केही अध्यक्ष राजकुमार न्यौपाने, महासचिव महेन्द्र राउतलगायतसंग मुखमुखै लाग्नु थालेका छन् । कार्यसमितिमा एकरुपमा नभएको र तीव्र असन्तुष्टि रहेको बिषय मउवा संघले बुधबार आयोजना गरेको तीज विशेष कार्यक्रममा समेत देखियो । संघ अध्यक्ष राजकुमार न्यौपाने र महिला उद्यमी विकास समिति सभापति निलम पाण्डेको बीचमा तालमेल र समन्वयको अभाव हुँद समस्या सृजना भएको कार्यक्रमका सहभागीको भनाई छ ।
करिब एक महिना अघिदेखि नै तीज विशेष कार्यक्रम महिला उद्यमी विकास समितिले आयोजना गर्ने छलफल भएको र सोही अनुरुप तयारी गरिएको भएपनि अन्तिम समयमा मउवा संघको ब्यानरमा संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा कार्यक्रम हुने भएपछि महिला उद्यमी सभापति पाण्डे रुष्ट बनेकी थिइन् । ‘यो कार्यक्रम एकमहिना अघि देखि नै हामीले गर्ने कुरो थियो, अध्यक्षलाई पनि यस बिषयमा जानकारी थियो’, उनले भनिन्, ‘एक्कासी मङ्गलबार बेलुका मात्र उद्योग वाणिज्य संघको ब्यानरमा राजकुमार न्यौपानेको अध्यक्षतमा कार्यक्रम हुने भन्ने जानकारी आयो ।’ यो थाहा पाएपछि महिला उद्यमीको बैठक राखेर बैठककै बीचबाट अध्यक्षलाई सोध्दा ‘यो कार्यक्रम मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा र ब्यानरमा हुन्छ ।’ यसको अध्यक्षता राजकुमार न्यौपानेको हुन्छ भन्ने जवाफ दिएको पाण्डेले सुनाइन् ।
बुधबार तीज विशेष कार्यक्रम हुँदै गर्दा पाण्डेसहितका असन्तुष्ट उद्यमीहरुले अध्यक्ष न्यौपानेको बिरोध गरेका थिए । अन्तत ः आगामी बैठकमा यस बिषयमा छलफल गर्ने निर्णय भएपछि सहमति भएको बताइएको छ । यता संघका अध्यक्ष न्यौपानेले भने मउवा संघको आयोजनामा कार्यक्रम आयोजना गरिएकोले त्यसको अध्यक्षता आफैँले गरेको बताए । ‘कार्यक्रमको अध्यक्षता गर्न नपाएको निहुँमा संघको आयोजनामा भएको कार्यक्रमलाई विथोल्न खोज्नु पक्कै राम्रो काम हैन’, उनले भने, ‘काम गर्दै जाँदा हुने कमजोरीलाई छलफलको माध्यमबाट टुङ्ग्याउन सकिन्छ ।’ आफूले आम उद्योगी व्यवसायीलाई रिझाउन सकेपनि कार्य समितिबाट भने सँधै आलोचना सहन बाध्य भैरहेको अध्यक्ष न्यौपानेको भनाई छ ।

