Header Ads


‘कामको चापले गाविस सचिवको मृत्युु’

हेटौंडा, १४ भदौ/मकवानपुरको चित्लाङ गाविस सचिव तपराज जोशीको मृत्यु भएको छ । 
गत ७ गतेबाट भाइरल ज्वरोका कारण उपचाररत जोशीको सोमबार बेलुका काठमाडौंको टिचिङ अस्पतालमा मृत्यु भएको हो । भूकम्पपछि अनुदान सम्झौताको कामको चापमा रहेका जोशीको कामको प्रेसरकै कारण स्वास्थ्यमा समस्या आई मृत्यु भएको गाविस सचिवहरुको भनाइ छ ।
गाविस सचिव हकहित संरक्षण केन्द्र मकवानपुरका अध्यक्ष टेकनाथ काफ्लेकाअनुसार ६ गते बिहानदेखि 
राति अबेरसम्म गाविसकै काममा व्यस्त रहेका जोशी ७ गतेबाट भाइरल ज्वरोका कारण थलिएका थिए । ‘७ गते उपचारको लागि सहिद मेमोरियल हस्पिटलमा लगिएको थियो,’ अध्यक्ष काफ्लेले भने, ‘त्यहाँ उपचार गर्दा पनि २० को १९ नभएपछि हिजै (सोमबार) मात्र टिचिङ हस्पिटलमा लगिएकोमा बेलुका टिचिङमै उहाँको मृत्यु भयो ।’ गाविस सचिव हकहित संरक्षण केन्द्र मकवानपुरका सदस्यसमेत रहेका जोशी २०७० सालबाट चित्लाङ गाविस सचिवको रुपमा कार्यरत रहेका थिए । कैलाली जिल्लाको चौमाला गाविस–३ नम्बर घर भएका जोशीले कामको प्रेसरकै कारण ज्यान गुमाउनु परेको अध्यक्ष टेकनाथ काफ्लेको भनाइ छ । यस्तै गाविस सचिव हकहित संरक्षण केन्द्र मकवानपुरका निवर्तमान अध्यक्ष बसन्तकुमार सिटौलाले राज्यले गाविस सचिवलाई काम थोपर्दै जाँदा अरुले समेत अकालमा ज्यान गुमाउनुपर्ने अवस्था आउने बताए । ‘भूकम्पको राहत वितरण, सामाजिक सुरक्षा भत्ताको अपडेट, भूकम्प प्रभावितले अनुदान पाउने लाभग्राहीमा नाम नपरेको भन्दै गाविस सचिवलाई दिने दवाव, भूकम्प पीडितको बालबालिकालाई रकम वितरण गर्नुपर्ने र दैनिक कामकारबाही गर्नुपर्ने भएकाले गाविस सचिवले धेरै तनाव खेपिरहनुपरेको छ,’ सिटौलाले भने,‘यस बिषयमा राज्यले गम्भीर ढंगले नसोचे यस्ता घटनाहरु अरु पनि ननिम्तेला भन्न सकिन्न ।’ 
मकवानपुरका गाविस सचिवहरुले राज्यले गाविस सचिवको अवस्था र उनीहरुको क्षमतालाई नबुझी काम मात्र थोपर्ने गरेको गुनासो गरेका छन् । यस बिषयमा गाविस सचिव हकहित संरक्षण केन्द्र केन्द्रीय कार्य समितिलाई जानकारी गराउने जिल्ला अध्यक्ष काफ्लेले बताए ।
Powered by Blogger.