मधेश आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली
हेटौंडा, ४ असोज/संघीय गठबन्धन मकवानपरको आयोजनामा मंगलबार मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका सहिदहरु प्रति श्रद्धाञ्जली अर्पन गर्ने कार्यक्रम सम्पन्न भएको छ ।
संघीय गठबन्धन मकवानपुरका संयोजक तथा संघीय समाजवादी फोरम मकवानपुरका अध्यक्ष शुभरत्न गोलेको अध्यक्षतामा भएको कार्यक्रममा गठबन्धनका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका केन्द्रीय पार्षद विश्व आले मगरले तराईमा भएको आन्दोलन पहाडमा सल्किसकेको बताएका छन् । त्यसैगरी अध्यक्ष शुभरत्न गोलेले सहिदहरुको सम्मान स्वरुप आम नेपाली जनताले शाहानुभुति प्रदान गर्नु पर्ने बताएका छन् । कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष सोबिन थिङ, संघीय फोरम मकवानपुर उपाध्यक्ष सूर्यबहादुर श्रेष्ठ, सचिव नवराज मुक्तान, समाजवादी विद्यार्थी फोरमका केन्द्रीय नेता तथा जिल्ला पार्टी प्रचार बिभाग प्रमुख शुभराज भोम्जन माया घलानलगायतको आतिथ्यता रहेको थियो ।

