‘छक्का पञ्जा ‘अग्र्यानिक’ भएकोले सबैको मन जित्छ’
हेटौंडा, २० भदौ/यहि भदौ २४ गतेबाट देशभर एकैसाथ एकलौटी प्रदर्शनमा आउन लागेको नेपाली फिल्म छक्का पञ्जाको निर्देशक दीपाश्री निरौलाले फिल्मलाई नेपाली दर्शकले चाहेको जस्तो बनाएको दावी गरेकी छिन् ।
प्रदर्शनको पूर्वसन्ध्यामा हेटौँडामा पत्रकार सम्मेलन गर्दै उनले नेपाली चलचित्रको ुटेून चेन्जु गर्नु सबैको दायित्व भएकोमा जोड दिँदै छक्का पञ्जा चलचित्र ‘अग्र्यानिक’ भएको बताइन् । ‘नेपाली दर्शक अग्र्यानिक फिल्म हेर्न मन पराउँछन् भन्ने हामीले बुझेका छौँ’, निरौलाले भनिन्, ‘दर्शकको चाहनालाई ध्यानमा राखेर हामीले तेस्रो चलचित्रको रुपमा छक्का पञ्जा निर्माण गरेका छौँ । सबैले मन पराइदिनुहुनेछ भन्नेमा हामी विश्वस्त रहेका छौँ ।’
छक्का पञ्जा बेरोजगार युवाहरुमा र वैदेशिक रोजगारीको बिषयमा केन्द्रीत रहेको भएपनि त्यसलाई नयाँ ढंगबाट प्रश्तुत गर्न खोजिएको उनको भनाई थियो । यस्तै चलचित्रका कलाकार एवम् निर्माता जितु नेपालले छक्का पञ्जा हेर्नको निम्ति हल जाने दर्शक २ घण्टा २० मिनेटसम्म मनोरञ्जन लिने विश्वास व्यक्त गरे ।
‘हामीले नेपाली दर्शकको भावनाको कदर गर्दै राम्रो काम गर्ने प्रयास गरेका छौँ’, नेपालले थपे, ‘मेहनतका साथ काम गरेका कारण परिणाम पनि राम्रै आउनेछ भन्ने हाम्रो विश्वास हो ।’ चलचित्र निर्माण पक्षले दर्शकलाई ‘बोर’ नलागोस् भन्ने बिषयमा विशेष चनाखो हुँदै काम गरेको उनको भनाई थियो ।
९० लाखको लगानीमा तयार भएको चलचित्र प्रदर्शन अगावै सो भन्दा बढी रकम उठिसकेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा चलचित्र वितरक एवम् निर्माता नरेन्द्र महर्जनले भाद्र २४ बाट छक्का पञ्जा मात्र मैदानमा उत्रिन लागेको भन्दै यसले चलचित्र निर्माण पक्षलाई र दर्शकलाई समेत राम्रो हुने बताए ।
भदौ २४ बाट नेपालका करिब ९० वटा हलमा यो चलचित्र लाग्ने उनको भनाई छ । हेटौँडाको ओम्याक्स र एनएस दुवै सिनेमा हलमा यो फिल्म लाग्नेछ । पत्रकार सम्मेलन चलचित्र पत्रकार संघ मकवानपुर उपाध्यक्ष प्रकाश दाहालको अध्यक्षतामा भएको हो ।
