Header Ads


घुस लिने कर्मचारी अख्तियारको फन्दामा

हेटौंडा, ४ असोज/हेटौंडामा रहेको एक उद्योगमा विद्युत् मिटर जडानका लागि घुस लिएका नेपाल विद्युत प्राधिकरण हेटौंडाका २ जना कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले उनीहरुलाई मङ्गलबार दिउँसो प्राधिकरण अगाडि रहेको एक होटलबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा प्राधिकरण हेटौँडा शाखाका कार्यालय सहायक धनबहादुर विक र पूर्व कर्मचारी विष्णु चौलागाई 
रहेका छन् । चौंलागाई प्राधिकरणको इलेक्ट्रिसियन पदबाट ६ महिनाअघि मात्र अवकास प्राप्त कर्मचारी हुन् । विकले लिएको घुस रकम चौलागाईँलाई राख्न दिएको पाइएको छ । उनीहरु दुबैलाई प्राधिकरणको कम्पाउण्ड बाहिर पक्राउ गरेको अख्तियार कार्यालय हेटौँडाका प्रवक्ता नरेन्द्र भट्टराईले जानकारी दिए । ‘घुस मागेको जानकारी विप्लव माओवादीका नेताहरुले चाल पाएका रहेछन्’ उनले भने, ‘नेताहरुले हामीस“ग समन्वय गरेपछि हामीले घुस लिएका २ जनालाई पक्राउ गरेका हौं ।’ हेटौंडा चिसापानी स्थित कपास बनाउने उद्योगमा मिटर जडानका लागि केही महिनादेखि धाइरहेका उनीहरुस“ग प्राधिकरणका कर्मचारीले आलटाल गर्दै काममा ढिलासुस्ती गरेको र काम गर्नको लागि घुस मागको उद्योगीको भनाइ छ । 
कर्मचारीले उद्योगी सुवास दाहाल र राजु दुलाललाई ३२ हजार रूपैयाँ दिए दुई दिनमै मिटर जडान गरिदिने बताएका थिए । उद्योगीले प्राधिकरणका कर्मचारी विकले घुस मागेको आवाज समेत रेकर्ड गरेर राखेका थिए । विकले उक्त रकम मध्येबाट आफूले एक हजार मात्र पाउने र बाँकी रकम ‘माथि’ बुझाउनुपर्ने प्रतिक्रिया दिएको ती उद्योगीको भनाइ छ । विप्लव माओवादी मकवानपुरका नेता गोकुल दाहालले मकवानपुरमा अझै धेरै कार्यालयले घुस लिएर मात्र काम गर्ने गरेको जानकारी पार्टीमा आएको बताउँदै उनीहरु पनि विस्तारै कारबाहीको दायरामा आउने बताए । ‘प्राधिकरणका कर्मचारीले घुस नलिई कामै गर्दैनन् भन्ने गुनासो पहिल्यैदेखि आएको हो’, दाहालले भने, ‘तिनीहरुको नाम र पदको लिष्ट समेत हामीलाई प्राप्त भएको छ । हामी आफैँले कारबाही गर्न मिल्ने ठाउँमा कारबाही पनि गर्नेछौँ र नमिल्ने ठाउँमा नियमनकारी निकायलाई सहयोग गर्नेछौँ ।’ प्राधिकरणका कर्मचारीले मिटर जडानको लागि झुलाएको र घुस मागेको गुनासो आएपश्चात अख्तियारलाई सहयोग गरिएको उनको भनाइ छ । 
Powered by Blogger.