Header Ads


जेसीजको निक भलिवलको उपाधि शिवम्लाई

हेटौंडा, ३ असोज/बसामाडी जेसीजको आयोजनामा सञ्चालन भएको नवौं निक उद्योगस्तरीय भलिबल प्रतियोगिता–२०७३ को उपाधि यस बर्ष पनि शिवम् सिमेन्टले कब्जा गरेको छ ।
हेटौंडा–४ स्थित हुप्रचौरको खेल मैदानमा भएको फाइनल खेलमा एन्टार्टिक विस्कुटलाई सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो पटक उपाधि कब्जा गरेको हो । शिवम्ले एन्टार्टिकलाई २५–१३, २५–१९ र २५–१५ को सोझो सेटमा पराजित गरेको हो । विजयी शिवम्ले नगद २० हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेताले नगद पाँचहजार रुपियाँ र शिल्ड, मेडल र ट्रफी प्राप्त ग¥यो । विजयी खेलाडी तथा उत्कृष्ट खेलाडीहरुलाई सांसद् तथा नेपाली काँग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले पुरस्कार वितरण गरेका हुन् । समापन समारोहलाई सम्बोधन गर्दै सभासद् बानियाँले जिल्लाको भलिबल विकासमा आफ्नो तर्फबाट सक्दो सहयोग संधै रहने प्रतिबद्धता जनाए । ‘विगत ९ बर्षदेखि प्रतियोगिता सञ्चालन गर्दै आएको यस बसामाडी जेसीजले जिल्लाको भलिबलको विकासमा महत्वपूर्ण योगदान दिएको छ’, बानियाँले भने, ‘मैले मेरो तर्फबाट गर्नुपर्ने सहयोग सदैव रहनेछ र अन्य समन्वयकारी भूमिका पनि निर्वाह गर्नेछु ।’ 
प्रतियोगितामा नेपाल इकरात इञ्जिनियरिङ प्रालिका राजेन्द्र विडारी उत्कृष्ट स्पाइकर, एन्टार्टिकका कमल राई उत्कृष्ट सेटर र शिवम्का प्रकाश चौलागाईं उत्कृष्ट खेलाडी घोषित भए । भदौ २८ गतेबाट सुरु भएको प्रतियोगितामा जिल्लाका चारवटा उद्योगहरुको सहभागिता रहेको थियो । उक्त टोलीलाई राउण्ड रोविन लिगको आधारमा प्रतियोगिता गराइएको थियो । जेसीज अध्यक्ष सुनिलकुमार दाहालको अध्यक्षतामा भएको प्रतियोगिताको समापन समारोहमा शिवम्का सञ्चालक रघुनन्दन मारु, जेसीज सल्लाहकार अशोक शाक्य, प्रायोजक कम्पनीका महाप्रबन्धक अनिलरत्न स्थापित, जिल्ला भलिबल संघ मकवानपुर अध्यक्ष विन्द्रालाल श्रेष्ठ, कार्यक्रम संयोजक सरोज अधिकारी तथा कार्यकारिणी उपाध्यक्ष हरि शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगिताको आगामी संस्करणबाट भने पुरस्कार 
राशीमा बृद्धि हुने भएको छ । विजेतालाई नगद ५० हजार रुपियाँ र उपविजेतालाई नगद २५ हजार रुपियाँ प्रदान गरिने प्रायोजक निकका प्रबन्धक सञ्चालक कुशकुमार जोशीले जानकारी दिए ।
Powered by Blogger.