Header Ads


कार्य सम्पादन मूल्याङ्कनमा खस्कियो शिक्षा कार्यालय मकवानपुर

हेटौंडा, २० भदौ/मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाले गरेको जिल्ला शिक्षा कार्यालयको कार्य सम्पादन मूल्याङ्कनमा मकवानपुर चौथो स्थानमा झरेको छ । 
गत बर्ष दोस्रो स्थानमा रहेको मकवानपुर यसबर्ष ललितपुरको जत्ति नै एकसय ८५ अंक ल्याउँदै चौथो स्थानमा रहेको हो । यसबर्ष सिन्धुपाल्चोक जिल्ला प्रथम भएको छ । आर्थिक वर्ष २०७२÷०७३ को कार्य सम्पादनमा काठमाडौंसहितका सुगम जिल्लालाई पछि पार्दै जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोकले पहिलो स्थान हाँसिल गरेको हो । गतबर्ष चितवन पहिलो स्थानमा रहेको थियो । आइतबार सानोठिमी भक्तपुरमा गरेको कार्यक्रममा मध्यमाञ्चल क्षेत्रका १९ जिल्लाको सम्पादन मूल्याङ्कन सार्वजनिक गरिँदा रामेछाप दोस्रो र नुवाकोट जिल्ला शिक्षा कार्यालय तेस्रो भएको जानकारी दिइएको छ । मकवानपुरका शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले कार्यसम्पादन र प्रश्तुतीमा जहिले पहिलो स्थानमा रहने मकवानपुर कसरी चौथो स्थानमा झ¥यो भन्ने बिषयमा आफू अन्यौलमा रहेको प्रतिक्रिया दिए । ‘अहिलेसम्म ३ पटक भएको प्रश्तुतीमा हामी जहिल्यै पहिलो भएका छौँ’, उनले भने, ‘के का आधारमा कसरी मुल्याङ्कन गरियो मुल्याङ्कन गर्नेहरु नै जान्लान् ।’ 
कार्यसम्पादन र प्रश्तुतीमा सँधै प्रथम हुने मकवानपुर मुल्याङ्कनमा भने चौथो स्थानमा पर्नु गलत भएको शिक्षा अधिकारी आचार्यको भनाई छ । सुगम भएर पनि धनुषा जिल्ला १९ जिल्लाको कार्य सम्पादन मूल्याङ्नमा सबैभन्दा पछि परेको छ । २ सय ५० पूर्णाङ्कको कार्य सम्पादन मापनमा सिन्धुपाल्चोकले १ सय ९१, रामेछापले १ सय ९० र नुवाकोटले १ सय ८९ अंक प्राप्त गरेको हो भने मकवानपुर र ललितपुरले १ सय ८५ अंक प्राप्त गरेको हो । सबैभन्दा पछि परेको धनुषाले जम्मा ६१ अंक मात्र प्राप्त गरेको छ । 
Powered by Blogger.