मकवानपुरका बहिर्गमित लडाकुको कारागारमै मृत्यु
हेटौंडा, १९ भदौ/बहिर्गमित जनमुक्ति सेना नेपालका सचिव तथा प्रवक्ता सञ्जय जर्गा मगरको कारागारमै मृत्यु भएको छ । काठमाडौंको डिल्लीबजार कारागारमा रहेका २४ वर्षका सञ्जयको शनिबार राति मृत्यु भएको हो ।
कारागार प्रशासनले हृदयघातबाट उनको मृत्यु भएको बताएपनि पोष्टमार्टम भइनसकेकाले कारण पुष्टि भएको छैन । शनिबारदेखि नै बिरामी रहेका सञ्जयलाई कारागार प्रशासनले उपचार गर्न नलैजाँदा ज्यान गएको बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टको भनाई छ । मकवानपुरको भैसे घर भएका सञ्जयको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । भक्तपुरको गठ्ठाघरमा रहेको प्रविण आयल स्टोरबाट झण्डै एक महिना अघि पक्राउ परेका उनलाई कारागारमा राखिएको थियो ।
पम्पभित्र अर्को मिटर हालेर ठगी गरेको अभियोगमा गत साउन ९ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो । अध्यक्ष विष्टले बिना कारण पक्राउ गर्ने र झुटा मुद्दा लगाउने तथा बिरामी हुँदा पनि उपचार गर्न नदिइएको बारे सरकारले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गरे । सरकारले बहिगर्मित लडाकुलाई जनही दुई÷दुईलाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेपछि समितिमा रहेका पूर्व लडाकुले त्यो पैसाले देशका विभिन्न ठाउँमा पेट्रोल पम्प चलाउने निर्णय गरेका थिए ।

