भिडियो एक्सरे मेसिन हस्तान्तरण गरिँदै
हेटौंडा, ६ असोज/हाँडीखोला प्रवासी समूहले सामाजिक सञ्जाल फेसबुक मार्फत रकम संकलन गरी हाँडीखोला स्वास्थ्यचौकीलाई उपहार स्वरुप दिन लागेको भिडियो एक्सरे मेसिन आज शुक्रबार एक कार्यक्रमका बीच
हस्तान्तरण गरिँदैछ ।
भिडियो एक्सरे मेसिन खरिद्का लागि मकवानपुरको हाँडीखोला घर भई काम तथा पढाईको शिलशिलामा विभिन्न मुलुकमा पुगेका युवाहरुले सामाजिक सञ्जाल मार्फत ‘आफ्नो गाउँ आफैँ बनाऔ“’ अभियान चलाएर करिब ८ लाख रुपैया“ रकम संकलन गरेका थिए । उक्त रकमबाट किनिएको मेसिन आज विशेष कार्यक्रमका बीच हाँडीखोला स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिने हाल दक्षिण कोरियामा रहेका अभियानका प्रमुख अभियन्ता सञ्जिव पाठकले जानकारी दिए । ‘विदेश गएपछि धेरैले आफ्नो गाउँठाउँलाई माया मा¥यो भन्ने आरोप पनि लाग्ने गरेको छ, पाठकले भने, ‘हामी युवाहरु मिलेर आफ्नो ठाउँको स्वास्थ्यचौकीको लागि भिडियो एक्सरे मेसिन सहयोग गर्ने अन्तिम तयारीमा आइपुग्दा निकै खुसी लागेको छ । यस अभियानलाई हामी निरन्तरता दिँदै जानेछौँ ।’ भिडियो एक्सरे खरिद् समितिका संयोजक समेत रहेका हाँडीखोला स्वास्थ्यचौकीका अहेब ज्योतिराज लुईँटेलका अनुसार प्रवासी समूहबाट ७ लाख ५७ हजार एकसय ६९ रुपैया“ सहयोग प्राप्त भएको हो ।
यस अभियानका लागि ७८ जनाले न्यूनतम ५ हजार रुपैँयादेखि एकलाख एक रुपैया“सम्म सहयोग गरेको उनको भनाइ छ । ‘हेटौंडाबाट नजिकै रहेर पनि स्वास्थ्यको दृष्टिकोणले पछाडि नै रहेको यस हाँडीखोलाका युवाहरुले गरेको यस कार्य निकै प्रशंसनीय रहेको छ,’ लुईँटेलले थपे, ‘भोलि शुक्रबार हुने हस्तान्तरण कार्यक्रममा यस अभियानलाई सफल पार्न सहयोग गर्नुहुने व्यक्तिहरुलाई सम्मान समेत गर्नेछौँ ।’
हाँडीखोला स्वास्थ्यचौकीमा भिडियो एक्सरे मेसिन भएपछि हाँडीखोलासहित पदमपोखरी, मनहरी र हेटौँडाको वडा नम्बर २८ र २९ का बासिन्दाले समेत सुविधा लिन सक्ने उनको भनाइ छ ।

